सुर्खेत । कर्णाली प्रदेशबाट एक बर्षमा ४ अर्ब बढीको खाद्यन्न, फलफुलसँगै पशु र दुग्धजन्य पदार्थ नीकासी हुने गरेको छ ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा ४ अर्ब बढीको खाद्यन्न, फलफुल, खसी बोका र दुग्धजन्य पदार्थ नीकासी भएको हो ।
आर्थिक बर्ष २०७९÷०८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट ४ अर्ब ७ करोड १८ लाख ६६ हजारको खाद्यन्न, फलफुल तथा खसी बोकाहरु नीकासी भएको थियो ।
विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापर लगायतका रैथाने बालीहरु नीकासी हुने गरेको छ भने तरकारी, तरकारीको बिऊ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तुहरु नीकासी हुने गरेको छ ।
यी वस्तुहरु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, पोखरा तथा कैलाली, कञ्चनपुरमा नीकासी हुने गरेको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले जानकारी दिनुभयो ।
उहाका अनुसार कृषि उपज नीकासीबाट कर्णालीमा बर्षेनी करिब २ अर्ब रकम भित्रिने गरेको छ । आर्थिक बर्ष २०७९÷८० मा कर्णाली प्रदेशले कृषि वस्तु नीकासीबाट एक अर्ब ७९ करोड रकम भित्र्याएको थियो । भने गत आर्थिक बर्षमा करिब २ अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उहाले बताउनुभयो ।
यसैगरी, पशुपंक्षीजन्य उपजहरु निर्यात गरी कर्णाली प्रदेशले २ अर्ब ३० करोड रकम बार्षिक आम्दानी गर्ने गरेको छ । पशुपंक्षी अन्तरगत खसीबोका नीकासीबाट मात्रै बार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपंक्षी निर्देशनालयले जनाएको छ ।
बार्षिक एक लाख २३ हजार मेट्रिक टन खशीबोका नीकासी हुने गरेको निर्देशनालयको तथ्याङ्क छ । यस्तै दुध बिक्रिबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ ।
कर्णालीबाट, राडिपाखी, खरायोको टोपी, कोटको कपडा लगायतका पशुजन्य उपजहरु नीकासी हुने गरेको छ ।
दुधमा अनुदान दिएपछि उत्पादनमा वृद्धी
कर्णाली प्रदेश सरकारले दुध उत्पादक किसानहरुलाई दुधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पाका किसानहरुले उत्पादन गर्ने दुधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दुधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसानहरु पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दुधको उत्पादनमा समेत वृद्धि भएको छ ।
अहिले कर्णालीमा खपत भएर पनि बार्षिक ५ हजार २ सय ६० मेट्रिक टन दुध नीकासी हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायत भन्नुहुन्छ, “विगतमा माथिल्लो कर्णालीमा पाउडर दुधको प्रयोग हुने गरेको थियो । जव प्रदेश सरकारले दुधमा अनुदान दिन थाल्यो अहिले दुध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दुधमा आत्मनिर्भर हुँदै गएको छ ।”
प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरु ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रमहरु संचालन गरिरहेको कठायतले जानकारी दिनुभयो ।
प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि व्याज अनुदानदेखि उत्कृष्ट कृषक पहिचानगरी पुरस्कृत गर्ने गरेको उहाको भनाई छ ।
कर्णाली प्रदेशबाट बार्षिक ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज नीकासी हुँदै
कर्णाली प्रदेशबाट बार्षिक ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज नीकासी हुँदै
![](https://sankalpaonline.com/wp-content/uploads/2023/10/khasi-boka.webp)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु