सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ ।
यस वर्षको छैटौँ संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हल अगाडी भोलीबाट सुरु हुने छ । उत्सव ३ दिनसम्म संचालन हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ ।
परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताउनुभयो ।
यसले मूलतः कर्णालीलाई केलाउँने भन्दै उहाले समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिने काम उत्सवबाट हुने बताउनुभयो ।
समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउने कर्णाली उत्सवका संयोजक कमल लम्सालको भनाई छ ।
‘सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात बिचारबाटै हुन्छ । हामी त्यही विचारबाट प्रेरित छौँ,’ उहाले भन्नुभयो, ‘उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उठेका कुराकानीहरूले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गरोस् भन्ने नै हाम्रो लक्ष्य हो ।’
तीन दिनसम्म चल्ने उत्सवमा विभिन्न विषयमा मन्थन हुने आयोजकले जानकारी दिएको छ ।
