सुर्खेत । बिवाहको उमेर २० बर्ष कायम राख्न माग गर्दै कर्णालीका बालअधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्था, बालबालिका, आमा समुह, किशोर किशोरी समुह लगायतले बिवाहको उमेर २० बर्ष कायम गर्न माग गर्दै संयुक्त रुपमा आज प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरु सामाजिक अगुवाहरु संग छलफल गरि आएको सुझाव अनुसार सम्पुर्णको तर्फबाट विवाहको उमेर २० वर्ष नै कायम राख्न हार्दिक अपिल गर्दछौं, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यमार्फत पठाइएको विज्ञप्तीमा भनिएको छ ।
प्रतिनीधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिको माघ २ गते बसेको बैठकले नेपालमा विवाहको कानुनी उमेर २० वर्ष बाट घटाएर १८ वर्षमा झार्न दिएको सुझावका विषयमा गम्भिर ध्यानाकर्षण गराइएको विज्ञप्ती जनाइएको छ ।
तथ्यगत अध्ययन, अनुसन्धान तथा किशोर किशोरीको मनोसामाजिक, शारीरिक, स्वास्थ्य र सामाजिक संरचनागत पक्षका आधारमा कानुनी रुपमै नेपालमा केटा÷केटी दुवैको विवाहको उमेर २० बर्ष बैज्ञानिक रहेको भन्दै बिवाहको उमेर २० बर्ष कायम हुनुपर्ने आवाज संस्थाका संगिता ओलीले जानकारी दिनुभयो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७० उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था रहेको छ ।
कानूनी रुपमा विवाहको उमेर २० वर्ष तय गरि बाल विवाह अन्त्यका लागी काम गरिरहेको अवस्थामा कानून बनाउने तहबाट नै विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा वहस अगाडी बढाउनु असादर्भिक रहेको उहाको भनाई छ ।
बालबालिकाको उज्जल भविष्य, शिक्षा, प्रजनन् स्वास्थ्य, भावनात्मक, सामाजिक र शारीरिक परिपक्कता र मानव अधिकारको दृष्टिकोणले नेपालमा विवाहको उमेर २० नै उत्तम रहेको विज्ञप्तीमा भनिएको छ ।
नेपाल सरकारले तत्काल बाल विवाह न्युनिकरणका कार्यक्रम, किशोरकिशोरी रुपान्तरण तथा जीवनयापनमा सहयोग र व्यापक अभियानहरु संचालन गरी बाल विवाह न्युनिकरण गर्नु आजको आवश्यकता रहेको सुझाव समेत दिइएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज सुर्खेत, बालविवाह विरुद्ध साझा अभियान संञ्जाल, राम मन्दिर आमा समुह, कोलडांडा ठुलो किशोरी समुह, नयाँवस्ती ठुलो किशोरी समुह र बुलबुले किशोर समुहको तर्फबाट विज्ञप्ती बुझाइएको हो ।

