सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्य सबैभन्दा धेरै उत्पादन मकै हुने गरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकार भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा उत्पादन हुने खाद्यन्नमध्य सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको हो ।
यो बर्ष कर्णालीमा २ लाख ५८ हजार ८ सय ७७ मेट्रिक टन मकै उत्पादन भएको जनाइएको छ ।
कर्णाली प्रदेशमा ८२ हजार ८ सय ८ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ ।
मकैपछि दोस्रो धेरै उत्पादन बालि गहुँ रहेको छ । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्कलाई हेर्दा ७१ हजार ७ सय ६९ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ । गत बर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९ सय ९० मेट्रिक टन गहुँ उत्पादन भएको मन्त्रालयका कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो नम्बरमा छ । गत बर्ष धान उत्पादन एक लाख ४६ हजार ६ सय ७९ मेट्रिक टन भएको छ ।
कर्णालीमा ४१ हजार ३ सय ४ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएको उहाले जानकारी दिनुभयो ।
त्यसैगरी १८ हजार ८ सय २६ मेट्रिक टन कोदो उत्पादन भएको छ भने ९ हजार ७ सय ९ मेट्रिक टन जौ उत्पादन हुँदा दुइ हजार ६ सय ३३ मेट्रिक टन फापर उत्पादन भएको छ ।
कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जस अन्तरगत १३ हजार ७ सय ४ हेक्टर क्षेत्रफलमा कोदो र २ हजार ३ सय ७७ हेक्टर क्षेत्रफलमा फापर खेती हुँदै आएको निर्देशनालयको तथ्याङ्कमा छ ।
कुन जिल्लामा कति खाद्यन्न उत्पादन ?
निर्देशनालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा यो बर्ष ७४ हजार ७ सय मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै, सुर्खेतमा ४५ हजार ४ सय ७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार ३ सय १० मेट्रिक टन, जाजरकोटमा ३३ हजार ३ सय १३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार ३ सय ४० मेट्रिक टन मकै उत्पादन भएको छ ।
यसैगरी, कालिकोटमा ८ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार ५ सय मेट्रिक टन, मुगुमा २१ सय ३८ मेट्रिक टन, डोल्पामा ३ हजार ७ सय ५० मेट्रिक टन र हुम्लामा २ सय ९० मेट्रिक टन मकै उत्पादन भएको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ ।
यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडी देखिएको छ । सुर्खेतमा यो बर्ष ३४ हजार एक सय २ मेट्रिक टन उत्पादन भएको छ । भने दोस्रोमा रहेको सल्यानमा २८ हजार ५ सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
यस्तै, जाजरकोटमा २५ हजार एक सय मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार ७ सय १३ मेट्रिक टन, दैलेखमा १७ हजार २ सय ७४ मेट्रिक टन, कालिकोटमा ११ हजार ३ सय मेट्रिक टन, जुम्लामा ५ हजार ४ सय ८ मेट्रिक टन, डोल्पामा ४ हजार एक सय ६५ मेट्रिक टन, मुगुमा ३ हजार २ सय ७२ मेट्रिक टन र हुम्लामा ११ सय १५ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको छ । यो बर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ ।
दैलेखमा २७ हजार १ सय ५२ मेट्रिक टन, २३ हजार ७ सय दश मेट्रिक टन, रुकुम पश्चिममा ९ हजार ४ सय ५५ मेट्रिक टन, जुम्लामा ५ हजार ९ सय ८७ मेट्रिक टन, कालिकोटमा ५ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कमा जनाइएको छ ।
यस्तै, हुम्लामा ११ सय २० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा ३ सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ ।
कर्णालीमा सात जिल्ला खाद्यन्नमा आत्मनिर्भर छन भने अन्य तिन जिल्ला खाद्यन्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।
कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु संचालन गरिएका प्रदेश सरकारले बताउँदै आएको छ । सरकारले व्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानहरुलाई पुरस्कृत गर्ने जस्ता कार्यक्रम गरिरहेको निर्देशक पाण्डेले जानकारी दिनुभयो ।
कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन
कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु