सुर्खेत । कर्णालीमा एक चौथाई किशोरीहरु २० बर्ष मुनीमा गर्भवती हुने गरेको पाइएको छ ।
कर्णालीमा गर्भवती हुनेहरुमध्ये २० वर्षमुनिका २१ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेको पाईएको हो । जुन अन्य प्रदेशभन्दा धेरै हो ।
गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४.२ प्रतिशत र ३ वर्षयता ४.८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेको सामाजिक विकास महाशाखा प्रमुख सुर्वण खड्काले बताउनुभयो ।
लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै कर्णालीका महिलाहरुले विगतभन्दा पछिल्लो ३ वर्षयता शारीरिक हिंसा बढी भोगेको पाईएको छ । ७ वर्ष पहिला १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६.७ प्रतिशत रहेको छ ।
महिलाहरु यौन हिंसामा पनि विगतभन्दा बढी पर्ने गरेको सामाजिक विकास महाशाखाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।
जनगणना २०७८ अनुसार कर्णालीमा २० देखि २४ वर्ष उमेर समुहका २९ प्रतिशत महिलाहरुको विवाह १८ वर्षसम्म भएको देखिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कर्णाली प्रदेश सरकारले तयार पारेको छ ।
जसले लैङ्गिक हिंसाविरुद्ध रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरु प्रदेशभर गर्दै आएको छ ।
सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना प्रादेशिक परामर्श कार्यशाला गरेको छ ।
लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल समेत भएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले पीडितहरुलाई अँझ बलियो रुपमा समेट्ने बताउनुभयो ।