सुर्खेत । सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर–८ का भिम बहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्या थियो । उपचार गर्न सिम्ताबाट कित वीरेन्द्रनगर जानुपथ्र्यो कित नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आउनको लागि ८० किलोमिटर यात्रा गर्नुपर्छ भने नेपालगञ्च एक सय ५० किलोमिटर । आफ्नो स्वास्थ्य उपचारको लागि हप्तौपिच्छे जानुपर्ने खत्रीलाई गाउँमै संचालन गरिएको स्वास्थ्य शिविरले ठुलो राहत मिल्यो । प्रदेश अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठसहितको टोली गाउँमै पुगेपछि भिम बहादुरलाई वीरेन्द्रनगर नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो ।
लामो समयदेखि मलाई हाडजोर्नीको समस्या छ । ६१ खत्रीले भन्नुभयो, “गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएँ । यस्ता स्वास्थ्य शिविर नियमित रूपमा गाउँमा सञ्चालन हुनुपर्छ ।”
भिम बहादु मात्रै होइन, एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै विभिन्न विशेषज्ञसेवा लिन पाएपछि स्थानीय पार्वती नेपालीले पनि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य रोगको उपचार गाउँको स्वास्थ्य चौकीमा सहजै पाइन्छ तर नसाको उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, गाउँमै चेकजाँच गर्न पाएपछि खुशी छु,”
वडा नम्बर ८ कै पूर्णकला ओलीलाई पनि पेट सम्बन्धिको समस्याले पिरोलिरहन्छ । एकदिने विशेषज्ञ स्वास्थ्य शिविरबाट लाभ लिन पाएपछि उहालाई गाउँमै विकास आएको महसुस भएको छ । “म पेटको बिरामी छु, उपचार गर्नको लािग नेपालगञ्ज जानुपथ्र्यो । तर यो पटक गाउँमै उपचार भएपछि साच्च हाम्रो गाउँमा पनि विकास भएछ भन्ने अनुभुती भएको छ ।”
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगसम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको थियो । विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट ३०० जनाले सेवा पाएका छन् ।
सिम्ता गाउँपालिका वडा नम्बर ८ मा पहिलोपटक गरिएको सात जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन ।
वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य,सुर्खेत उद्योग वाणिज्य संघ तथा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको प्राविधक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगसम्बन्धी समस्या लगायतबारे सेवा प्रदान गरिएको छ ।
शिविरमा बरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डाक्टर पारस पौडेल, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञडा नम्रता भटराईर बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर कृतिका थापाले सेवा दिनुभएको हो ।
यस्तै मेडिकल अधिकृत डाक्टर दिलिप कुमार शाह र डाक्टर अमृत कर्ण तथा फिजियोथेरापिष्ट डाक्टर कैलास सिराले विरामीलाई सेवा दिनुभएको थियो ।
घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको वडा अध्यक्ष चेतबहादुर रेग्मी बताउनुहुन्छ । शिविरमा सिम्ता गाउँपालिका वडा ८ लगायत आसपास वडाका बिरामीको समेत उपचार गरिएको रेग्मीको भनाई छ ।
यस्तै कार्याक्रममा सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्नुभयो ।
निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
उहाँले आगामी बर्षको बजेटमा नै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरेर सबै नागरिकलाई उपचारको पहुँचमा पुर्याईने बताउनुभयो ।
शिविरमा विभिन्न रोगका २ सय २५ जना महिला र ७५ जना पुरुषले सेवा लिएका जनाईएको छ । शिविरमा बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधी वितरण गरिएको थियो ।