सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा एकसय २४ वटा गिद्ध फेला परेका छन् ।
गाउँपालिकाको वन तथा वातावरण ऐन लागु गरि जैविक विविधतायुक्त वातावरण बनाउन थालेपछि गाउँपालिकाभित्रका वन क्षेत्रमा गिद्ध बढ्न थालेका हुन् ।
कहिलेकाँकी मात्रै वनमा देखिने गिद्ध बढेर अहिले एक सय २४ वटा पुगेको गाउँपालिकाले जनाएको छ ।
शुरुमा गाउँपालिकाले जैविक विविधता कायम गर्न भन्दै १२ वटा विभिन्न समुहहरु र दुइजना कर्मचारी नियुक्त गरि कामको थालनी गरेको गाउँपालिका अध्यक्ष खड्क विक (विवस) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले गौशाला संचालनमा ल्यायो । छाडा छोडिएको गाइगोरु गौसालामा राख्न थालियो । बुढो उमेर भएर मरेका गाईगोरुहरुलाई राख्ने ठाउँ बनाइएपछि आहाराको खोजीमा गिद्धहरु पालिकामा आउन थालेका हुन् ।
गौसालमा बुढो भएर मरेका गाईगोरुहरुको व्यवस्थापन गर्ने ठाउँ बनाएका छौँ, अध्यक्ष विकले भन्नुभयो, “गाड्नेभन्दा पनि वस्तीभन्दा टाढा वनमा लिएर मरेका गाईगोरु राखिदिन्छौँ, त्यहाँ कसैले विषादी हाल्न सक्नेतर्फ समेत सचेत हुँदै हामीले गौसालाका कर्मचारीलाई रेखदेखको लागि खटाउने गरेका छौँ, अनि आहारा खोज्दै गिद्धहरु हाम्रो पालिकाका वन क्षेत्रमा आउन थालेका छन् । अहिले एक सय २४ वटा गिद्ध हाम्रो वन क्षेत्रमा छन्,”
अब ति गिद्ध संरक्षणको लागि योजना बनाउन लागिएको भन्दै अध्यक्ष विकले चराविद् एवम माथिल्लो तहका सरकारहरुसँग समन्वय गरिरहेको बताउनुभयो ।
चौकुने गाउँपालिकाभित्र भेरी र कर्णाली नदी समेत पर्दछ । त्यहाँ रहेका विभिन्न प्रजातीका माछा संरक्षणको लागि समेत योजना बनाएर काम गरिरहेको उहाले जानकारी दिनुभयो ।
पालिले जारी गरेको ऐनमा नै भएको व्यवस्था अनुसार पालिकाभित्रका विभिन्न क्षेत्रका व्यक्तीहरु सम्मिलित १२ वटा छुट्टा छुट्टै समुह बनाएका छौँ । यी समुहरुले जैविक विविधता कायम गराउनको लागि अध्ययन अनुसन्धानका साथै जैविक विविधता कायम राख्न काम गरिरहेका छन् । ती समुहको उद्देश्य भनेको वन जोगाउनेदेखि चराचुरिङ्गीको वासस्थानको लागि उपयुक्त वातावरण निर्माण गर्नु हो,”
भेरी र कर्णालीको दोभानमा पाइने रातो माछा लगायतका अन्य जलचरहरुको संरक्षणका लागि माछा मार्न रोक लगाइएको बताउनु्भयो ।
माछा संरक्षण गर्नको लागि माछा मार्न रोक लगाइएको छ, तर हाम्रो पालिकाभित्र पर्ने भेरी र कर्णाली सिमाना अन्य पालिकासँग समेत जोडिएको हुँदा केही चुनौती थपिएको छ ।
वन ऐन बनाइसकेपछि सञ्चित कोषमा सामुदायिक वनबाट राजस्व संकलन समेत शुरु भएको भन्दै अहिले संचित कोषमा २२ लाखसम्म राजस्व संकलन गरिएको उहाको भनाई छ ।
यता, कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चौकुने गाउँपालिकामा गिद्ध बढेको भन्ने विषयमा अध्ययन गरेर योजना बनाइने बताएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली जैविक विविधताले धनी रहेको भन्दै यसलाई कायम राख्नेगरी योजना बनाइने प्रतिवद्धता जनाउनुभयो ।
सुर्खेतको चौकुने गाउँपालिकामा एकसय २४ वटा गिद्ध
सुर्खेतको चौकुने गाउँपालिकामा एकसय २४ वटा गिद्ध

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु