सुर्खेत । सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसब्बा गुरुङले हुलाक सेवालाई समयअनुसार बदलिनेगरी ऐन ल्याउन लागिएको बताउनुभएको छ ।
सोमबार हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागेको बताउनुभएको हो ।
अहिले प्रविधिले फड्को मारिरहेको बेला पुरानै अवस्थामा हुलाक सेवा रहन नसक्ने भन्दै सरकारले नीती परिवर्तन गरेर सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने बताउनुभयो । हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ । मन्त्री गुरुङले भन्नुभयो, “अब यसको सेवालाई थप प्रभावकारी बनाउनको लागि नीति नै परिवर्तन हुन्छ, यसको लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि संघियताको मर्मअनुसार आधुनिक रुपमा हुलाक सेवा संचालन हुन्छ,”
देश संघिय गणतन्त्रमा गइसकेको भन्दै २०१९ सालको ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने उहाले उल्लेख गर्नुभयो । “कानुन छ राजा महेन्द्रको पालाको अनि हामी परिवर्तनको अपेक्षा गरेका छौँ, यतिका बर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको रु” उहाले प्रश्न गर्नुभयो ।
हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि योजना आयोगले समेत नबुझेको भन्दै योजना निर्माण गर्दा हुलाक क्षेत्रको समस्या बुझ्न उहाले आयोगलाई सुझाव दिनुभयो ।
उहाले कर्णाली प्रदेशमा सुचना र सञ्चारको पहुँचलाई गुणस्तरिय बनाउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो ।
अहिले भ्रामक सुचनाले समाज भाडिरहेको भन्दै उहाले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चार सम्बन्धीको विद्येयक छिट्टै कानुनको रुपमा आउने जानकारी गराउनुभयो ।
उहाले विकासका काम अध्ययन नगरि गर्ने गरिएको भन्दै देशको खर्बौ रकम खेर गइरहेको बताउनुभयो । “बसाइसराई शहर केन्द्रीत हुँदैछ, प्रविधिको विकास तिव्र रुपमा अगाडी बढीरहेको छ, तर सनकको भरमा अध्यन नगरि विकासका कामहरु गर्ने प्रवित्तिले राज्यको खरबौ रकम नोक्सान भएको छ । विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ,”
कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई प्रभावकारी बनाउनको लागि माग गरिएका सबै विषयलाई सम्बोधन गर्न प्रयास गरिने बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्याय लगायतले नवनिर्मित भवनसँगै सेवालाई प्रविधिमैत्री बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा हुलाक सेवालाई प्रभावकारी बनाउन योगदान गरेको भन्दै विभिन्न नीकाय तथा व्यक्तीहरुलाई सम्मानित समेत गरिएको थियो ।
यस्तै, आज नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवद्र्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।
विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उहाले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक र विशेष अनुदान वृद्धि गरिने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाएको स्मरण गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न सुरु गरिएको सेवा प्रतिको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता जनाउनुभयो ।
