सुर्खेत । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरिएपनि स्थानीय उत्पादनमै अत्याधिक विषादी भेटिन थालेको छ ।
विषादी अवशेष द्रुत विष्लेशण प्रयोगशाला एकाइसँगको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले विषादी परिक्षणलाई तिव्रता दिइरहेको छ । जसअन्तरगत स्थानीय उत्पादनमा समेत अत्याधिक रुपमा विषादीको मात्रा फेला परेको हो ।
मंगलबार मात्रै दैलेखबाट सुर्खेत ल्याइएको तरकारीमा सत प्रतिशत विषादी भेटिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखाका प्रमुख हेमराज केसीका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ बाट ल्याएको फर्सीमा सत प्रतिशत विषादी भेटिएको हो ।
त्यही ठाउँको तरकारी संकलन केन्द्रबाट आएको १७ किलो फर्सीमा विषादीको मात्रा अध्याधिक भेटिएपछि नष्ट गरिएको केसीले जानकारी दिनुभयो । “तरकारीमा विषादीको मात्रा के कती छ ? भनेर हामीले परिक्षणलाई तिव्रता दिइरहेका छौँ । कृषि शाखा प्रमुख केसीले भन्नुभयो,” “बाहिरबाट आएका तरकारी तथा फलफुलसँगै स्थानीय स्तरमै उत्पादन हुने तरकारीहरुमा अत्याधिक विषादीको मात्रा देखिएको छ । आज मात्रै दैलेख गुराँस गाउँपालिका वडा नम्बर ६ बाट ल्याइएको फर्सीमा सत प्रतिशत विषादी मात्रा भेटिएपछि हामीले नष्ट गर्यौ ।”
पछिल्लो समय सुर्खेत वीरेन्द्रनगरमा भित्रने र स्थानीय स्तरमै उत्पादन हुने तरकारीमा भएको विषादी परीक्षणलाई तिव्रता दिएको छ ।
कृषि थोक बजार वीरेन्द्रनगरमा व्यवसायीहरूले भित्राइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।
कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमूना परीक्षणमध्य नौ ओटा तरकारीहरुमा अत्यधिक विषादी प्रयोग भएको भन्दै नष्ट गरिएको छ ।
२०८१ कात्तिकमा स्थापना भएको एकाइले हालसम्म १४१६ नमूना परीक्षण गरिसकेको जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीका अनुसार यीमध्य आठ ओटा नमूनाहरु केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरेको छ ।
तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ ।
एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीहरुमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशत माथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ, उहाले भन्नुभयो ।
यस्तै, कृषि विज्ञहरुले गाउँगाउँमा सचेतनाका कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् ।
विषादीको प्रयोग घटाउन स्थानीय सरकारले नै कृषकहरुको बारीसम्मै पुगेर सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने उनिहरुको सुझाव छ ।

