सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भिर असर निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागि सरोकारवालाहरुले एन्टिबायोटिक औषधीहरुको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भिर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।
एन्टिवायोटिकहरुको अत्याधिक प्रयोगले प्रतिरोध क्षमतामा समेत गिरावट आउने र त्यसले गर्दा औषधीहरुले काम नगर्ने अवस्था सिर्जन हुन सक्ने उनिहरुको भनाई छ ।
चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा समेत एन्टिवायोटिक लिनेहरु बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने तथ्यहरु रहेका छन् ।
विश्व स्वास्थ्य संगठनका कर्णाली प्रतिनिधि प्रतिप अधिकारीले आफ्नो प्रस्तुती राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताउनुभयो ।
उहाले सन २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीहरुको प्रयोगका कारण प्रत्यक्ष रूपमा ६ हजार ४ सय र अप्रत्यक्ष रुपमा २३ हजार २ सय मृत्यु भएको बताउनुभयो ।
मानिस, जनावर र बोटबिरुवाहरूमा एन्टिवायोटिक्सको अत्यधिक प्रयोग प्रतिजैविक प्रतिरोधी रोगको बृद्धि हुनुका मुख्य कारण रहेको उहाको भनाई छ । उहाले भन्नुभयो, “बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मूलुकहरु मध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने संक्रामक रोगहरुमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य संक्रमण रहेका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पशुपंक्षीपालन क्षेत्रको करिव १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिव २७ प्रतिशत योगदान छ कृषि तथा पशुपंक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढीरहेको छ,”
गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देशहरू सबैभन्दा बढी प्रभावित हुन थालेको बताउनुभयो ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डाक्टर केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएका छन् ।
सामान्य रोगका लागि पनि एन्टिवायोटिक औषधीहरुको प्रयोग हुने गरेको उहाको भनाई छ । बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ, उहाले भन्नुभयो । “यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ । हामी मात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।”
औषधी पसलहरुमा समेत डाक्टरको शिफारिसबिना रोगको पहिचान नै नगरि एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उहाको भनाई छ । रोगको पहिचानबिना त्यस्ता औषधीहरु प्रयोग गर्न नहुने उहाको सुझाव छ ।
चिकित्सकले मात्रै भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भिर विषय भएकाले सबैको सरोकार हुनुपर्ने सुझाव उहाको छ ।
यस्तै, कर्णाली प्रदेश अस्पतालमै कार्यरत डाक्टर सुजन साप्कोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुुहुन्न भनेपनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औँल्याउनु्भयो ।
गाउँगाउँसम्म सचेतना कार्यक्रम संचालन गर्न सुझाव
यसैबिच सरोकारवालाहरुले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीहरुको प्रयोगले पुर्याउने हानीका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।
उनिहरुले एन्टिबायोटिकहरुको प्रयोग जथाभावी गर्दा भविश्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आम नागरिकलाई जानकारी दिन आवश्यक रहेको औँल्याएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले खाद्य वस्तुहरुमा समेत एन्टिवायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यस सम्बन्धि जनचेतना आम नागरिकमा दिनुपर्ने सुझाव दिनुभयो ।
विशेषगरी अहिले कुखुराको मासुमा अत्याधिक मात्रामा एन्टिवायोटिक्स हुने गरेको छ, थापा भन्नुहुन्छ, “दुग्धजन्य पदार्थमा पनि अब अछुतो रहेन, त्यसैले हामी मात्रै जानकार भएर हुँदै आम नागरिक यस विषयमा जानकारी हुन जरुरी छ,”
कुन खाद्य वस्तुको अवस्था केछ ? भनेर जाँच गर्ने माइक्रो ल्याव नभएको भन्दै यसका लागि सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने उहाको सुझाव छ ।
वीरेन्द्रनगर नगरपालिका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीहरुकै कारण मानिसहरुमा गम्भिर असर परिरहेकोतर्फ सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । उहाले भन्नुभयो, गाइभैसी बिरामी भएको खण्डमा किसानहरुले छिट्टै निको हुने औषधीको प्रयोग गर्ने भनेपछि हामी एन्टिबायोटिक दिन बाध्य हुन्छौ, त्यसबाट उत्पादित मासु, दुध लगायतका वस्तुहरु मानिसले प्रयोग गर्छन अनि त्यसबाट स्वास्थ्यमा गम्भिर असर सिर्जना हुँदै छ,
उहाले यस सम्बन्धि नियमन गर्ने नीकायले अलि कडाइ गर्न सक्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल औषधी व्यवसायि संघ सुर्खेतका महासचिव मंगल प्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आम व्यवसायीहरुलाई सचेत गराइएको बताउनुभयो ।
केह व्यसायी र बिरामी आफै पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उहाको भनाई छ ।
सरोकारवालाहरुले मानव, पशुंक्षी र बोटबिरुवाहरुमा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निक्र्यौल गरेर मात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने लगायतका सुझाव दिएका छन् ।
यता, कर्णाली प्रदेश सरकारले भने नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न नीतिहरु बनाइरहेको बताएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यस सम्बन्धि बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रीत हुने प्रतिवद्धता जनाउनुभयो ।
एन्टिबायोटिकको प्रयोग बढ्दै, गम्भिर स्वास्थ्य संकट आउन सक्ने चिन्ता
एन्टिबायोटिकको प्रयोग बढ्दै, गम्भिर स्वास्थ्य संकट आउन सक्ने चिन्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु