सुर्खेत । दैलेख नारायण नगरपालिका वडा नम्बर १ पुरानो बजारमा चन्द्राकुमारी नेपालीको २०३९ सालमा जन्म भयो । मध्यम परिवारमा जन्मिएकी चन्द्राका सात भाइबहिनीमध्ये उहाँ घरको कान्छो छोरी हुनुहुन्छ । कान्छो छोरी भएरै होला चन्द्राको बाल्यकाल सहजरुमा गाउँमै बित्यो । उहाँले आधारभुत तहसम्म शिक्षा दैलेखकै भाषा पाठशालाबाट लिनुभयो । ६ कक्षादेखि त्रिभुवन मावि दैलेख बजारमा पढ्नुभयो । उहाँका दाई दिदीहरु जागिरे हुनुहुन्थ्यो । उहाँहरुले चन्द्रालाई पढ्नको लागि हौसलासँगै प्रेरणा दिनुहुन्थ्यो । विद्यालय तहको शिक्षा लिनेबेला उहाँले कुनै आरोह अवरोह खेप्नुपरेन । पढाइ पनि राम्रै थियो, पढाइप्रति लगाव राख्ने चन्द्रा २०५६ सालमा एसएलसी उतिर्ण हुनुभयो । त्यतिबेला एसएलसी पास हुने महिलाहरु खासै हँुदैन्थे । एसएलसी पास भएको दिनमा चन्द्राको घरमा धेरै खुसीयाली छाएको थियो । चन्द्रा भन्नुहुन्छ, “मेरो माइतीमा दाई भाउजुहरुले मेरो पढाइमा धेरै सहयोग गर्नुभएको हो, त्यतिबेला विद्यालय जाने छात्राहरु धेरै हुनुहुन्थेन । छोरीहरुलाई पढाउनुपर्छ भन्ने सोच समाजमा थिएन । तर मेरो माइती परिवारमा त्यस्तो सोच थिएन । विद्यालय तहको शिक्षा मैले सहजैसँग प्राप्त गर्ने अवसर पाएँ ।”
बिहेपछि पढाइलाई निरन्तरता
एसएलसी पासपछि चन्द्राको बिवाह भयो । उतिबेला सानै उमेरमा बिवाह गराउने चलन थियो । त्यही चलनअनुसार चन्द्राको पनि बिहे भयो । विवाहको ४ वर्ष उहाले आफ्नो पढाइ रोक्नुप¥यो । आफ्नो पढाइ पुरा गर्ने उहाँको सोच पुरा हुन्न की भन्ने चिन्ता चन्द्रामा थियो । तर घरपरिवारको सहयोग उहाँले पाउनुभयो । “मेरो रोकिएको पढाइलाई निरन्तरता दिन्छु भनेर एकदिन मैले घरपरिवारमा प्रस्ताव राखेँ” चन्द्रा भन्नुहुन्छ, “अनि श्रीमान र सासु ससुराले पढ्ने मान्छेले पढ्नुपर्छ भनेर हौसला दिनुभयो, अनि म वीरेन्द्रनगरको इत्राम स्कुलमा नाम लेखाएँ । अनि मेरो रोकिएको पढाइ फेरी शुरु भयो त्यतिबेला म निकै खुशी भएँ ।”
बिवाहपछि पढ्न विद्यालय जाँदा गाउँ समाजमा अब बिवाहपछि पनि के पढ्नुपर्यो ? घर व्यवहार गरेर बस्नुपर्छ भन्ने गरिन्थ्यो । तर चन्द्रा र उहाको परिवारले त्यसको कुनै प्रवाह गरेँन । चन्द्रा जब १२ कक्षा पास हुनुभयो । समाजमा प्रशंसा बटुल्न लाग्नुभयो । समाजका सार्वजनिक कार्यहरुमा चन्द्रलाई नै अगाडि सार्न थालियो । सामाजिक काममा सक्रिय हुने चन्द्राको चन्द्रा सानैदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो । कोही कसैमाथि भएको अन्याय उहाँलाई असह्य हुन्थ्यो । आफ्नो छिमेकमा होस या विद्यालयमा उहाँले कसैमाथि अन्याय भए जाइलाग्न समेत पछि पर्नुहुन्थेन । उहाँको स्वभाव देखेर विद्यालयका साथीहरुले समेत केही समस्या परेको खण्डमा उहाँलाई नै सुनाउथे ।
जब मन्दिरमा पस्न दिइएन…
धार्मिक आस्था अनुसार व्रत बस्ने चलनअनुसार एकदिन चन्द्रा र उहाँका दिदीबहिनीहरु दैलेखमा मन्दिरमा जानुभयो । मन्दिरका पुजारीले चन्द्रालाई चिन्नुहुन्थेन । पछि दलितको छोरीहरु भन्ने थाहा पाएपछि मन्दिर जुठो भयो भनियो । त्यतिबेला चन्द्राले सोचिन की हामी पनि यही समाजका मानिस हौँ, हामीलाई मन्दिरमा पुजा गर्न नदिइनुको कारण केहो ? उहाँले पुजारीसँग सोध्नुभयो । पुजारीले गैरजिम्मेवार जवाफ दिएपछि समाजमा रहेको यो सोचलाई अब परिवर्तन गर्नैपर्छ भनेर चन्द्राले योजना बनाउनुभयो । त्यही योजना अनुसार उहाले दैलेखका अगुवा नागरिकहरुसँग मिलेर जातीय विभेदविरुद्धको अभियानमा सामेल हुनुभयो ।
उहाँ सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । उहाँलाई घरपरिवार गाउँसमाजमा कुनै विभेदको सामाना गर्नुपरेको थिएन । अरु केही दलितमाथि विभेद भएको सुन्नुभएको थियो । तर आफैले त्यस्तो भोग्नुभएको थिएन । एकदिन भुर्तीको मन्दिर दर्शन गर्न पुग्नुभयो । त्यहाँ नेवार समुदायको बाहुल्यता धेरै थियो, पुजारीले चिनेनन् अनि पुजा गरेर बाहिर निस्किएपछि कसले पुजारीलाई भनिदिएछ, दलितका छोरीहरु छिरे भनेर । चन्दा भन्नुहुन्छ, “मन्दिर जुठो भयो भनियो । त्यसले मलाई समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने अवस्था सिर्जना गर्यो । अनि केही अगुवाहरुसँग मिलेर त्यो छुवाछुतविरुद्ध माफी समेत मगाइयो भने यसका विरुद्ध सचेतनाका कार्यक्रमहरुमा समेत चलायौँ ।”
राजनीतिमा प्रवेश
चन्द्रा विद्यालय शिक्षादेखि नै राजनीतिमा चासो राख्नुहुन्थ्यो । अझै भनौँ सामाजिक कार्य गर्नु उहाँको रुचिको विषय थियो । उतिबेला छोरीहरुलाई नपढाउने, जातीय आधारमा विभेदका घटनाहरु हुने यी सबै उहाँले परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । आफैपनि मन्दिरमा पुजा गरेको निहुँमा परेको विभेदले उहालाई राजनिती गर्नुपर्छ भन्ने सोच जगायो । काँही कतै कोही व्यक्ति अन्यायमा परेँ त्यसको प्रतिकारमा उहाँ उत्रिनुहुन्थ्यो । उहाँको बिवाहपछि उहाले केही बर्ष छोराछोरी हुर्काउन र रोकिएको पढाइलाई पुरा गर्न लाग्नुभयो । सँगै उहाँले सामाजिक कार्यहरु पनि गर्नुहुन्थ्यो । छिमेकका दिदीबहिनीहरु पनि उहाँलाई अगाडि सारेर सामाजिक काममा अगुवाइ गर्न पठाउथे । चन्द्रा भन्नुहुन्छ, “म बिवाहपछि पनि सामाजिक कार्यमा सक्रिय थिएँ, केही सामुहिक काम परेको खण्डमा मलाई अगाडि लगाइन्थ्यो । मैले पनि सामुहिक भावना समेटिनेगरी काम गर्थे । टोलका विकासका काम हुन अथवा महिला अधिकारका सवालहरुमा म सधैं अगाडि सर्थेँ । सबैले मेरो विश्वास मान्दै जानुभयो, अनि मेरो श्रीमान र घर परिवारले पनि मलाई धेरै सहयोग गर्नुभयो ।”
सरकारले २०७४ सालमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गर्यो । २० वर्षपछि हुन लागेको निर्वाचनको माहोल धेरै तात्तिएको थियो । सधै सामाजिक कार्यमा सक्रिय रहने चन्द्रालाई पनि निर्वाचनमा लड्न अगाडि सारियो । उहाँको रुचीको क्षेत्र पनि भएकाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ को जनप्रतिनिधि हुन तयार हुनुभयो । उहाँको घरपरिवारले पनि निर्वाचनमा होमिन सहयोग गर्ने बताएपछि उहाँ जनप्रतिनिधि हुन तयार हुनुभयो । उहाँले कांग्रेसबाट सहजै रुपमा टिकट पाउनुभयो । अनि निर्वाचनबाट भारी मतका साथ वडा सदस्यमा निर्वाचित हुनुभयो । शुरुमा त जनप्रतिनिधि हुँदा कसरी काम गर्ने भन्ने त्यति थाहा नपाएका उहाले विस्तारै अनुभव विभिन्न सिकाइबाट थाहा पाउनुभयो । अनि उहाले टोलको समस्या समग्र समग्र समस्याको पहिचना र समाधानमा पहल थाल्नुभयो । त्यति मात्रै नभएर दलित, महिला र पछाडि पारिएका समुदायको लागि काम गर्ने गर्नुभएको छ । “वडा अध्यक्षसँग पनि समन्वय र सहकार्य राम्रो बनाउने गरेको छु । वडा कार्यवाहक जिम्मेवारी समेत पाउँछु भने मैले राखेका प्रस्तावहरुको राम्रो सुनुवाइ हुन्छ, चन्द्रा भन्नुहुन्छ ।”
वडाध्यक्ष बन्ने चाहना
जनताको मन जितेरै होला, उहाँ २०७९ को निर्वाचनबाट समेत दोस्रो कार्यकालको लागि जनप्रतिनिधि दोहोरिनुभएको छ । उहाँलाई पार्टीमा समेत सम्मानजनक स्थान दिइएको छ । उहा अहिले नेपाली काँग्रेस सुर्खेतको जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । तर राजनीतिक दलहरुले समग्रमा महिलाहरुलाई खासै अवसर नदिने गरेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बेला आएको बताउनुहुन्छ ।
उहाँ पहिलो कार्यकालको अनुभवसँगै अष्टे«लियन सरकार र द एसिया फाउन्डेसनको स्थानीय सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा दलित महिला केन्द्रले दिँदै आएको क्षमता विकास तालिमले अझै काम गर्न र अगाडि बढ्न सहज बनाएको बताउनुहुन्छ । “हामीजस्ता दलित महिला जनप्रतिनिधिहरुको लागि सीडब्लुएनले धेरै कुरा सिकाउनुभएको छ, यसले गर्दा झनै वडामा काम गर्न र योजनाहरु बनाउन मात्रै होइन, अगाडि बढ्ने साहस समेत बढेको छ ।”
दुई कार्यकाल वडा सदस्य भइसक्नुभएका चन्द्राले आगामी निर्वाचनमा समेत सामेल हुने योजना बनाउनुभएको छ । उहाँले आगामी कार्यकालमा वडा अध्यक्षमा दाबी रहेको बताउनुहुन्छ । राजनीतिबाटै उहाँ नीति निर्माण तहमा पुगेर सामाजिक सोच परिवर्तन गर्दै समतामुलक समाज निर्माण गराउने आगामी योजना छ ।