सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा आयोजित महिनावारी स्वच्छता तथा पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निर्माणसम्बन्धी तालिममा सहभागी किशोरीहरू दक्ष बनेका छन् । पाँच दिने तालिममा २९ जना किशोरीहरूले सहभागी भई महिनावारी सरसफाइका व्यवहारिक सीपहरू सिकेका हुन् ।
कर्णाली प्रदेश बाल क्लब सञ्जालको आयोजनामा र सीसीआर कर्णाली, स्याक नेपाल तथा नेपाल नाजरेथ सोसाइटी (नवज्योति केन्द्र), सुर्खेत को आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिमका क्रममा किशोरीहरूले महिनावारी चक्रको वैज्ञानिक जानकारी, छुवाछूतलगायत सामाजिक पूर्वाग्रहका विषयमा छलफल गर्दै सचेतना प्राप्त गरेका थिए । उनीहरूले प्लास्टिकजन्य प्याडको सट्टा सुतिको कपडाबाट निर्माण गर्न सकिने पुनःप्रयोगयोग्य स्यानिटरी प्याड बनाउन सिकेका हुन् ।
“महिनावारीलाई अझै पनि अपवित्रतासँग जोड्ने सामाजिक दृष्टिकोण हटाउन हामी किशोरीहरू सचेत छौँ। यस्ता तालिमहरूले हाम्रो आत्मविश्वास बढाएको छ,” एक सहभागी किशोरीले भन्नुभयो ।
कर्णाली बाल क्लब सञ्जालका अध्यक्ष समीक्षा चौधरी ले भन्नुभयो, “महिनावारीप्रति रहेको परम्परागत धारणा हटाउँदै विद्यालयदेखि घरसम्म सरसफाइ र आत्मसम्मानका कुरा पु¥याउन तालिमले भूमिका खेलेको छ ।”
त्यस्तै, नवज्योति केन्द्रकी सिस्टर रोसिता ले किशोरीहरूका लागि यस्तो तालिम समयानुकूल र अत्यावश्यक रहेको बताउनुभयो । “सही जानकारी र व्यवहारिक सीप बिना महिनावारीका बेला किशोरीहरू अपमानजनक व्यवहारको शिकार बन्न सक्छन् । यसैले यस्तो तालिम प्रभावकारी छ,” उहाले भन्नुभयो ।
सीसीआर कर्णालीका अध्यक्ष टिकाराम आचार्यले यसअघि विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण तथा जलवायु परिवर्तन र बाल अधिकारबारे कविता प्रतियोगिता गरिएको स्मरण गराउँदै भन्नुभयो, “बाल क्लबको मागअनुसार महिनावारी स्वच्छता र प्याड निर्माण समेटिएको तालिम प्याकेज तयार पारिएको हो । यसले किशोरीहरूलाई सशक्त बनाएको छ ।”
कार्यक्रमपछि सहभागी किशोरीहरूले स्थानीय तहमा पनि महिनावारी सरसफाइका बारेमा चेतना फैलाउने प्रतिबद्धता जनाएका छन् ।
महिनावारी स्वच्छता र स्यानिटरी प्याड निर्माणमा किशोरीहरू दक्ष बन्दै
महिनावारी स्वच्छता र स्यानिटरी प्याड निर्माणमा किशोरीहरू दक्ष बन्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु