सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरले रत्न राजमार्गमा भइरहेका सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न मंगलगढी चोकमा आकाशे पुल निर्माण गर्ने नीति लिएको छ । यसका साथै एरिचोक र एअरपोर्ट चोकको विस्तार कार्यलाई समेत निरन्तरता दिइने योजना छ ।
सरकारले सडक सुरक्षाका लागि महत्वपूर्ण चोक र मार्गहरूको पूर्वाधार सुदृढीकरणमा प्राथमिकता दिएको नगर प्रमुख मोहोनमाया ढकालले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ । आकाशे पुल निर्माण पश्चात पैदल यात्रीहरूका लागि सुरक्षित आवतजावतको सुविधा हुने विश्वास लिइएको छ ।
यस्तै, वीरेन्द्रनगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले आगामी १० वर्षका लागि शैक्षिक रणनीति निर्माण गरेको छ । त्यही रणनीतिको आधारमा बजेट तथा कार्यक्रमहरू क्रमशः तर्जुमा गरी कार्यान्वयन गरिने नगर प्रमुख ढकालको भनाई छ ।
नगरपालिकाले ‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।
साथै सामुदायिक विद्यालयहरूलाई डिजिटलाइज्ड बनाउने कार्यलाई पनि उच्च प्राथमिकता दिइएको नगर प्रमुख ढकालको भनाई छ ।
चालु वर्षलाई ‘राजस्व सुधार वर्ष’का रूपमा अघि बढाउने
नगरपालिकाले चालु आर्थिक वर्षलाई ‘राजस्व सुधार वर्ष’का रूपमा अघि बढाउने भएको छ ।
हाल कार्यान्वयनमा रहेका स्वीकृत कर र दस्तुरलाई यथावत राख्दै नगरलाई आत्मनिर्भर तथा आर्थिक रूपमा सबल बनाउने लक्ष्य लिइएको नगर प्रमुख ढकालले बताउनुभयो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नगरले करको दायरा पूरा गरिसकेको र अबको योजनामा नयाँ कर क्षेत्रको पहिचान गर्दै करको दायरा विस्तार गरिने ढकालले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ । साथै, करदाताका विवरणहरू डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रत्येक करदातालाई कर प्रणालीमा समेट्ने कार्य अघि बढाइने जनाइएको छ ।
यस्तै, महिला दलित तथा अपाङ्गत भएका व्यक्तीद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उद्यम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुट दिने नीति लिइएको नगर प्रमुख ढकालले बताउनुभयो ।
यसैबिच, नगरपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य नीति कार्यक्रममा लिएको छ । निर्माणाधिन भवनबाट प्रविधिमैत्री र एकीकृत सेवा प्रदान गरिने नगर प्रमुख ढकालले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उल्लेख छ ।
भेरी लिफ्टिङ आयोजना दुई वर्षभित्र सम्पन्न गरिने, नयाँ वारिङ खन्ने कार्यमा कडाइ
नगरपालिकाले ल्याएको नीति कार्यक्रममा भेरी लिफ्टिङ खानेपानी आयोजना अब तीव्र गतिमा निर्माण कार्य अघि बढाइने जनाइएको छ । सरकारका अनुसार आयोजना सम्झौता अनुसारको दुई वर्षभित्र सम्पन्न गरिनेछ ।
खानेपानीको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न वैकल्पिक स्रोतका रूपमा रहेको डिप बोरिङ प्रणालीलाई पनि सुदृढ गरिने नगर प्रमुख ढकालले बताउनुभएको छ । यस अन्तर्गत डिप बोरिङमा रिजभ्र्वायर ट्यांकी निर्माण गरिने र अनियन्त्रित रुपमा हुने नयाँ बोरिङ खन्ने कार्यलाई निरुत्साहित गरिने जनाइएको छ ।
तर, स्थानीय आवश्यकताको पहिचानसहित सिफारिस भएमा मात्र नयाँ बोरिङ खन्ने कार्यलाई अनुमति दिइने नगरपालिकाको योजना छ ।
वीरेन्द्रनगरको कृषि, सिँचाई र युवा रोजगारीमा केन्द्रित नवीन नीति
’वीरेन्द्रनगरको अठोट पकेट क्षेत्रमा जोड’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षमा बाली पकेट क्षेत्रको निर्माण तथा विस्तारलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमैत्री नीति ल्याएको छ ।
नगरपालिकाले उत्पादन अनुकूल बाली वस्तुहरूलाई पहिचान गरी तिनीहरूलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै स्थानिय बजारमा उत्पादनको स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ ।
’सिंचाईमा लगानी कृषकलाई आम्दानी’ नारासहित सिँचाई पूर्वाधारलाई समेत जोड दिइएको छ । सिंचाई सुविधा नपुगेका क्षेत्रहरूमा साना सिँचाई कार्यक्रम सञ्चालन गरी सिंचित क्षेत्रफल विस्तार गर्ने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।
युवा रोजगारी र प्रविधिलाई जोड्दै ’डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नाराका साथ सूचना प्रविधि र उद्यमशिलतालाई एकैसाथ प्रवद्र्धन गरिने छ । यस अन्तर्गत डिजिटल प्लेटफर्म, फ्रीलान्सिङ तथा नविनतम प्रविधिमा आधारित तालिम तथा रोजगारी सिर्जना गरिने कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
त्यस्तै, ’युवा जागौं, उद्यम बढाऔं’ भन्ने नारासहित युवामैत्री उद्यमशिलता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाइएको छ । नगरपालिकाले युवालाई स्वरोजगारमुखी बनाउन अनुदान, सीप विकास तालिम तथा स्टार्टअप अनुदान जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यस्तै ‘हरित सहर बनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर’ नारासहित वीरेन्द्रनगर नगरपालिकाले सडक सौन्दर्यकरणको अभियान अघि सारेको छ ।
कालोपत्रे भइसकेका सडक छेउछाउमा बहुउपयोगी तथा सजावटी फूल र विरुवा रोपेर संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रम सफल बनाउन संघीय, प्रदेश सरकार, विकास साझेदार, स्थानीय संघ–संस्था र टोल विकास समितिसँग सहकार्य गरिने नगरपालिकाले जनाएको छ ।