सुर्खेत । सुर्खेत लेकवेशी नगरपालिकाको वडा नम्बर २ स्थित पुरानो गाउँ सोलार खानेपानी आयोजनाबाट स्थानीयवासीले नियमित खानेपानीको समस्या भोग्दै बताएका छन् ।
सोलार प्रणालीबाट सञ्चालन भइरहेको उक्त आयोजनामा घाम लागेको बेला मात्रै पानी आपूर्ति हुने र मौसम खराब हुँदा खानेपानी अभाव हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका हुन् ।
खानेपानी उपभोक्ता प्यारी दनुवारले आयोजनालाई नियमित सञ्चालन गर्न विद्युत् विस्तार आवश्यक रहेको बताउनुभयो ।
उहाँले घाम नलागेको समयमा गाउँमा खानेपानीको हाहाकार हुने भन्दै सम्बन्धित निकायसँग छिटो विद्युत् पु¥याउन माग गर्नुभयो ।
“घाम लाग्यो भने धारामा पानी आउँछ, घाम लागेन भने समस्या हुन्छ। गाउँमा खानेपानीको समस्या समाधानका लागि चाँडै विद्युत् पु¥याइदिन माग गर्दछु,” दनुवारले भन्नुभयो ।
अर्का स्थानीय मानबिर विकले बादल लाग्दा खानेपानीको हाहाकार हुने गरेको भन्दै विद्युत चाँडो पुर्याउन माग गर्नुभयो ।
उहाले विद्युत पोल मात्रै गाडिएको भन्दै त्यसपछिका काम अगाडी बढ्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।
यता, पुराना गाउँ सोलार पावर हाउसका अध्यक्ष भविन ग्यामी रानाले स्थानीयको खानेपानी समस्या समाधान गर्न विभिन्न संघसंस्थासँगको सहकार्यमा सोलार प्रणालीमार्फत लिफ्टिङ आयोजना सञ्चालन गरिएको भएपनि त्यसलाई नियमित बनाउन विद्युत आवश्यक रहेको औल्याउनुभयो ।
“जनतालाई खानेपानी समस्या भएपछि संघसंस्थाको सहयोगमा सोलार सिस्टमबाट पानी लिफ्टिङ गरेर अहिले धारासम्म पु¥याएका छौँ। तर आयोजनालाई दीर्घकालीन र भरपर्दो बनाउन विद्युत् आवश्यक छ,” अध्यक्ष रानाले बताउनुभयो ।
यता, स्थानीय सरकारले भने वडा नम्बर १ र २ का बिभिन्न ठाउँमा विद्युत पुर्याउनेगरी काम भएपनि ठेकेदारको लापरवाहीका कारण काम अगाडी नबढेको बताएको छ ।
वडा नम्बर २ का अध्यक्ष चन्द्र बहादुर बुढाले विद्युत सेवा विस्तारका लागि काम अगाडी बढाइएपनि ठेकेदारको चरम लापरवाही भएको बताउनुभयो ।
उहाले यस विषयमा माथिल्लो तहका सरकारसम्म गएपनि कुनै सुनुवाई नभएको बताउनुभयो ।
सोलारमा निर्भर खानेपानी आयोजना, विद्युत् विस्तारको माग
सोलारमा निर्भर खानेपानी आयोजना, विद्युत् विस्तारको माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
