आदरणिय गगन थापा ज्यू
नमस्कार अनि जय नेपाल
कुशल छु, कुशलताको कामना गर्दछु ।
म आज यो खुल्लापत्र किन लेख्दैछु, भनेर भन्नुभन्दा पहिले म जस्तो एउटा तल्लो दर्जामा रहने व्यक्तीले हजुरलाई पत्र लेख्न सक्ने हैसियत राख्न सक्छु की सक्दैन ? मेरो मनमा उब्जिएको पहिलो प्रश्न हो ? तर म यो पत्र लेख्न सक्छु । किनकी तपाईँ मेरोमात्र हैन सारा नेपालीको प्रतिनिधित्व गर्ने नेता हो ।
मैले आज यो पत्र लेख्दै गर्दा जननायक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलाई सम्झन्छु । किनकी उहाँहरुको त्याग, तपस्या र योगदानका कारण हामी लोकतान्त्रिक पद्धतीमा छौं । विपीकै मान्यतामा टेकेर मैले अहिले यो पत्र लेखिरहेको छु । यस्तो खुल्ला समाज बनाउन सफल त्यही नेताहरुको योगदानमा बनेको नेपाली काँग्रेसभित्र अहिले अव्यवस्थित राजनीति किन भइरहेको छ ? नेपाली काँग्रेस एउटै पार्टी होइन र ? यदी एउटै पार्टी हो भने तल्लो स्थरदेखि नै पक्ष–विपक्षमा किन लडाईं गरिन्छ ?
एउटा उदाहरणको रुपमा लिऔं–धेरै त्याग र तपस्याबाट जन्मिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका गलत कार्य विरुद्ध उभिन खोज्दा दुइचिरा भएको नेविसंघ एउटा आन्दोलन गर्ने पक्षमा, अर्को आन्दोलन नगर्ने पक्षमा उभियो । यो एउटा उदाहरणमात्र हो । सामान्य कुरामा पक्ष विवपक्ष हुनु स्वभाविक हो । तर यहाँ त पाटीको एजेण्डामा पनि दुइचिरा देखिन्छ । पाटी एउटा देखिएपनि फरक फरक दल जस्तो देखिन शुरु भएको छ । यसको नतिजा २० बर्षपछि भएको स्थानिय तह निर्वाचनमा पनि देखियो । म यसकारण तपाईजस्ता नेताहरुलाई यो पत्रमार्फत आग्रह गर्न चाहन्छु । नेपाली काँग्रेसलाई जनताको हरेक दुःख सुःखको पार्टी बनाउने की ? समुह–उपसमुहमा विभाजन गरेर पार्टीको शाख नै सक्ने ? तपाईजस्ता नेताको हातमा छ ।
पत्र पढ्दै गर्दा तपाईको मनमा आउला यस्ता कुरा त कती उठे उठे तर मैले सच्चा नागरिकको हैसियतमा यो पत्रमार्फत भन्दैछु । नेपाली काँग्रेसको हरेक कालखण्डमा ठुलो योगदान छ । हरेक परिवर्तनमा नेपाली काँग्रेस नेतृत्वमा छ । त्यसका उपलब्धी संस्थागत गर्ने भन्दा पनि अहिले पार्टीमा गुट उपगुट मौलाएको देख्दा लाग्दैछ कि नेताहरु किन यस्तो बाटोमा हिंडैछन् ? हरेक कुरामा भागभण्डाको आधारमा पार्टी किन चलाइएको छ ? भागभण्डाले केन्द्रीय समिति त शान्त पारेको होला । तर जनस्तरमा त्यसको नराम्रो असर परेको छ । म त काँग्रेस हुँ तर कुन खेमाको काँग्रेस हो ? हरेक काँग्रेसीजनहरुमा यो प्रश्न मौलाएर उत्कर्षमा पुगेको छ । जसले आगामी दिनमा काँग्रेसको अस्थित्वमा प्रश्न उठ्न सक्छ ।
तपाईले स्वास्थ्य क्षेत्रमा ल्याउन खोजेको सुधारको खुलेरै जनताले प्रसंशा गरेका छन् । अझै त्यतिमात्र होइन नेपाली काँग्रेसको अस्थित्व राख्ने नेताको रुपमा चित्रण गरेका छन् । नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न तपाईजस्ता नेताको भरमा जनता छन् । विपीको सपना साकार बनाउन पनि तपाईजस्ता नेताको खाँचो छ । त्यसको लागि संगठनभित्र मौलाएको गुट उपगुट हटाउन तपाईजस्ता युवा नेताहरुले नियमनकारी भुमिका निभाउन जरुरी छ । पार्टीको गुट अन्त्यको लागि हस्ताक्षर अभियान नै संचालन सुरु गर्न म अनुरोध गर्दछु ।
म बिहान चिया चोकमा पुग्छु । आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको वहस चलिरहेको हुन्छ । यसपालीको निर्वाचनमा पहिलो दल कुन होला, भनेर तर अनौपचारिक छलफलमा समेत काँग्रेसमा त पक्ष विपक्ष छ । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा त अरु कुनै दल नै पहिलो शक्ती भएर आउँछ । यस्ता कुरा सुनिन्छन् । तपाँईले बोलेका कुरा मेरो मन मस्तिष्कमा गुन्जयमान नै रहिरहन्छ । कि तपाई हरेक कुरा परिवर्तनकारी हुन्छन् । तपाईले चाहेको परिवर्तनको लागि पार्टीको गुट उपगुट अन्त्य आवश्यक छ । त्यसको लागि दाजुले नै पहल गर्नुहोस । एक होइन, दुई होईन, तीन होईन कयौँ पटक हाम्रा नेतृत्व गर्ने नेताहरु चुक्नु भो । कयौं गल्ती गर्नुभो । यस्ता गल्ती सुधार्न तपाँईले अभियान संचालन गर्न जरुरी ठानेर मैले साधारण भाषामा यो पत्र लेखेको छु ।
पार्टी भित्रको यस्ता गुटको परिणाम जनताले देखाईसकेका छन् । त्यसैले मेरो अनुरोध तपाँई गुट हटाउन भोलीदेखि नै हस्ताक्षर संकलन अभियानमा लाग्नुस । यदी यसो गरेर विभिन्न समूहमा रहेको संगठनलाई एक ढिक्का बनाउनुभयो भने तपाईको यो काम अति प्रसंशा गर्न योग्य हुनेछ । भने जनतामा काँग्रेसले हरेक परिवर्तनमा खेलेको भुमिकाको कदर गर्नेछन् । र लोकतन्त्रको मियोको रुपमा जन्मिएको पार्टीले लोकतन्त्रको प्रत्याभुती जनतालाई दिलाउन सक्नेछ ।
मलाई थाहा छ तपाईं मेरो यो पत्रको जबाफ दिन उचित ठान्नु हुनेछैन । तर, गगन दाजु पछिल्ला युवाहरुले लोकतन्त्रको आवाज उठाउँदा गगन दाजुको देनको रुपमा चित्रण गर्नेछन् । तपाईलाई थाहा छ नेपाली काँग्रेसमा मौलाउँदै गएको यो गुटले संगठनभित्र प्रतिस्पर्धाको राजनीति त तय गर्ला । तर पार्टीभित्रको गुटका कारण सयौं बर्षको त्यागबाट प्राप्त लोकतन्त्र गुम्न सक्छ ।
झर्को नमानी यो पत्र पढ्दिनुहोला की म मात्र हैन पछिल्ला नेपाली काँग्रेसमा आस्थावान युवाहरुमा नेपाली काँग्रेसमा तल्लो तहदेखि नै मौलाउँदै गएको गुटले समस्या निम्त्याउँदैछ । त्यसको फाइदा अरुले लिएका छन् । भने लोकतन्त्रको धज्जी उडाउने अन्य पार्टीहरुले नेपाली काँग्रेसद्वारा स्थापित लोकतन्त्रको नाममा राजनीति गरेका छन् । ‘भाइ भुटे गवार लुटे’ भन्ने उखानको उदाहरण नेपाली काँग्रेस बन्दै गएको छ । र अन्त्यमा भोलीका दिनदेखि नेपाली काँग्रेसमा मौलाउँदै गएको गुट अन्त्यका लागि गगन थापा अभियानमा लागेको भन्ने समाचार सुन्न पाइयोस । यती भन्दै मेरो कलम बन्द गर्छु ।
नमस्कार जय नेपाल ।
–टेकराज केसी, सुर्खेत
सुर्खेतबाट गगन थापालाई खुल्ला पत्र
सुर्खेतबाट गगन थापालाई खुल्ला पत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु