दैलेख, ३ साउन । आन्दोलनरत करार कर्मचारीहरुले दैलेखको गुराँस गाउँपालिका कार्यालय अन्तरगतका विभिन्न शाखाहरुमा तालाबन्दी गरेका छन ।
करार कर्मचारीहरुको म्याद थप हुनुपर्ने मागसहित आन्दोलित भएका करार कर्मचारीहरुले गाउँपालिकाको प्रशासन, लेखा, कृषि, पशु र स्वास्थ्य शाखामा तालाबन्दी गरेका हुन ।
आफुहरुको माग पुरा नभएसम्मको लागि ताला नखोलिने आन्दोलनको नेतृत्व गरिरहनुभएकी खम्बिरा केसीले संकल्प अनलाइनलाई जानकारी दिनुभयो ।
करार कर्मचारीहरुको म्याद थप नगर्ने गाउँपालिकाको निर्णयप्रति हाम्रो घोर आपत्ती छ, केसीले भन्नुभयो, हाम्रा माग सम्बोधन नहुन्जेलसम्म ताला खुल्दैन ।’
पालिकाले नै दरबन्दी सिर्जना गरेर संचालन गरिएका केही वडाका स्वास्थ्य संस्थाहरु कर्मचारी नहुँदा बन्द भएको बताइएको छ ।
प्रशासनमा लगाइएको ताला तोडियो
करार कर्मचारीहरुको मागको सुनुवाई नभएको भन्दै विभिन्न शाखामा ताला लगाइयो । तर कार्यालयमै कार्यरत एकजना स्थायी कर्मचारीले प्रशासन शाखामा लगाएको ताला तोडेका छन ।
उनले अफिसको काम गर्नुपर्ने भन्दै ताला तोडेका हुन् । करार कर्मचारीहरुले भने प्रहरी मुचुल्का बिना ताला तोड्न नपाईने बताएका छन ।
करार कर्मचारीहरुको पुनरवहालीको माग गर्दै असार ३१ गतेबाट करार कर्मचारीहरु आन्दोलित भएका छन । आन्दोलनको पहिलो दिन कर्मचारी र प्रहरीबिच झडव समेत भएको थियो । झडवका क्रममा प्रहरीले गोली समेत चलाएको थियो, भने आन्दोलनकारी र प्रहरी दुबै पक्ष केही व्यक्ती घाइते भएका थिए ।
घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
