सुर्खेत । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगी बिरामी फेला पर्न थालेका छन ।
प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेंगी सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिनएको हो ।
सुर्खेतमा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगीका ४० बिरामी फेला परेका छन् ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताउनुभयो । हिमाली भेगमा खोला नदी किनारका बस्तीमा सङ्क्रमण देखापरेको छ ।
निर्देशनालयका अनुसार यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन् ।
प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेंगी सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको औँल्याउनुभयो ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने मानव चालका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ ।
निर्देशनालयले डेंगी रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेंगी कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्नेजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।
यसैबिच, नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।
यसैबीच, नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ ।
जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा पनि डेङ्गी
जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा पनि डेङ्गी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु