सुर्खेत । कुनै बेला गाउँ भरिभराउ हुन्थे । मानिसहरुको रोजाई गाउँ नै हुन्थ्यो । गाईभैसी पालनको लागि उपयुक्त ठानेर शहरभन्दा गाउँमा मानिसहरु वस्ती बस्न जान्थे । तर अहिले अवस्था फेरिएको छ । गाउँबाट मानिसहरु बसाई सरेर शहरतिर केन्द्रीत छन । विकास र सुख सुविधाको लागि मानिसहरु शहर केन्द्रीत हुन थालेका हुन ।
कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका गाउँमा मानिसहरु बसाईसराई गरेर शहरमा बस्ने क्रम बढ्दो छ । गाउँमा विकास नहुँदा मानिसहरु शहरतिर नै बस्न थालेपछि शहर अव्यवस्थित र गाउँ उजाड र बाँझिदै गएको हो । कुनै बेला गाउँको उत्पादनको भरमा शहरका मानिसहरु भएपनि अहिले भने हरेक कुरा किनेर खानुपर्ने र गाउँमा उत्पादन पनि घट्दै गएको देखिन्छ । पहिले हामी सबै आफै उत्पादन गरेर खान्थ्यौ । दैलेख गुराँस गाउँपालिकाका वडा नम्बर ५ का ८० बर्षिया जेष्ठ नागरिक प्रेम बहादुर चन्दले भन्नुभयो, “अहिले त सबै दुख गर्न छोडे । कोही गाउँको घरजग्गा छोडेर जान थाले । किनी खने भएका छन मान्छेहरु । हाम्रा पालामा त्यही नुन बाहेक अरु केही किन्दैन्थ्यौ ।”
उहाले यही अवस्था रहे गाउँको नाम नै मेटिने चिन्ता गर्नुहुन्छ । “गाउँमा कोही नबस्ने, काम पनि नगर्ने, अनि विदेश गयो, आफ्ना खेतबारीमा दुख नगरेपछि काहाँबाट खान पाइन्छ ? चन्दले भन्नुभयो ।
उहाले भनेजस्तै हिजो गाउँमा बसोबास गर्ने अधिकांश ग्रामीण जनता केही वर्षदेखि नजिकको शहरमा बसोबास गर्न थालेका छन् । शहर केन्द्रीत हुन थालेपछि गाउँको जग्गा बाँझो हुने क्रम तीव्र गतिले बढेको छ ।
समग्र कर्णाली प्रदेशको झण्डै ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ । जसमध्ये साविक कर्णालीको ५ जिल्लामा मात्रै ३० हजार ५ सय २ हेक्टर खेतीयोग्य जमिन सिँचाइ अभावले बाँझो रहेको पाइएको छ ।
पानीको स्रोत प्रसस्त भए पनि सदुपयोग गर्ने नीति र गाउँकेन्द्रीत लगानी नहुँदा उत्पादन घट्दो छ भने मानिसहरु गाउँ छोड्ने बढेका छन ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा हाल २ लाख १६ हजार ८ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । तर प्रदेशभर ८२ हजार ४ सय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा बाँझै छ ।
जमीन बाँझो हुनुको मुख्य कारण शहर केन्द्रित बसोबास र वैदेशिक रोजगारी नै हो । कर्णालीका गाउँहरुमा छोराछोरी विदेश, बाबुआमा शहर केन्द्रीकृत, जस्का कारण गाईगोठ, बाख्राको खोर सबै रित्तिएका छन् ।
शहरमा खेतीयोग्य जमीन खण्डीकरण भई टुक्राटुक्रामा घडेरीकरणका रुपमा बिक्री भइरहेका छन् । गाउँका जग्गा बाँझै हुँदा भविश्यमा देशलाई ठुलो समस्या पने बताउनेहरु धेरै छन ।
गाउँमा जग्गा बाझै र शहमा घर मात्रै हुँदा उत्पादन घट्दै जाँदा परनिर्भरता बढेको चिन्ता सरोकारवालाहरु गर्न थालेका छन ।
बुद्धीजिवी एवम नागरिक समाजका सदस्य तिलक रिजालले उत्पादनमुखि नीति लिएर युवाहरुलाई गाउँ केन्द्रीत गर्नुपर्ने सुझाव दिनुहुन्छ । जबसम्म गाउँको विकास हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन । उहाले भन्नुभयो, “सरकारले अब गाउँफर्कको नीति लिनुपर्यो, विदेशिने युवाहरुलाई गाउँमै उत्पादनमा जोड्ने नीति ल्याउनुपर्यो भरनिर्भरतातिर होइन आत्मनिर्भरतातर्फ लैजानुपर्यो । ”
नेपालको संविधानले देशका जुनसुकै ठाउँमा बसाईसराई गर्न पाउने र व्यापार व्यवसाय गर्न पाउने अधिकार दिएको छ । संविधानले दिएको अधिकारअनुसार जोसुकै व्यक्ती जुन ठाउँमा गएर पनि बसाइसराई गरेर बस्न सक्छ । तथापी गाउँ नै उजाड हुनेगरी शहर केन्द्रीत होइन अब गाउँ केन्द्रीत हुनुपर्ने देखिन्छ । रिजालले भन्नुभयो ।
संघियतपछि गाउँको विकास र युवाहरुलाई गाउँमै उत्पादनमा जोड्न धेरै सहज छ । नजिकै रहेको स्थानीय सरकारले यो विषयमा अलि बढी जिम्मेवार हुनुपर्ने जानकारहरु बताउछन ।
महात्मा गान्धीको बिचारलाई सापटी लिने हो भने पनि उनले भनेका थिए, “जबसम्म गाउँको विकास हुँदैन, देशको विकासको परिकल्पना नगरेपनि हुन्छ ।” यही भनाईबाट देशको विकास गर्न राजनितिक नेतृत्व गर्नेहरु लाग्नुपर्ने सुझाव दिनुहुन्छ सुर्खेतका पत्रकार गोविन्द खत्री । उहाले संघियताको मोडेलअनुसार तिनै तहका सरकारले राम्रो नीति लिने हो भने गाउँ केन्द्रीत विकास गर्न सकिने बताउनुहुन्छ ।
गाउँको विकाससँगै आत्मनिर्भरता र विकासका हरेक सुविधा पुर्याउन सबै पक्षबाट हातेमालो गर्दै यसलाई वहसको विषय बनाउनुपर्ने देखिन्छ ।
गाउँ रित्तिदै, शहर अव्यवस्थित बन्दै
गाउँ रित्तिदै, शहर अव्यवस्थित बन्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
