काठमाडौं । गृह मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकपछि सभापति रवि लामिछानेले पनि डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए । रास्वपाबाट लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।
तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेसँगै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भए । दुई दिनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री फर्किन चाहे ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गर्नुभएको छ ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा लामिछानेले विगतदेखि नै आफूलाई चारैतिरबाट घेरा हाल्ने काम भएको गुनासो गर्दै देश विदेश जता जाँदा पनि आफ्नो बाटोमा अवरोध आइरहेको बताउनुभयो ।
विदेशबाट नेपाल फर्केर देशमा केही गरौँ भनेर सञ्चार कर्ममार्फत आम मानिसका समस्या समाधानको पहल गर्दा पनि विभिन्न आरोप लगाइएको उहाँले बताउनुभयो ।
सञ्चार कर्मपछि राजनीतिमा आउँदा पनि नेपालका सञ्चारमाध्यमले निकै आलोचना र अवरोध गरिरहेको लामिछानेको गुनासो छ । तर उहाँले हार नमानेको भन्दै जनमतको कदर गर्ने र आसा उत्साहका साथ दिएको एक÷एक भोट खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिले गृह मन्त्री नपाएकोले सरकारबाट बाहिरिएकोजस्तो गरेरमात्रै विश्लेषण र समाचार आइरहेको तर अहिले बाहिर देखाइएको विषय र वास्तविकतामा आकाश जमिनबीचको खाडल रहेको उहाँको भनाइ छ । स्तै मुद्दामा अरू र आफूमाथि फरक व्यवहार भएको तर अदालतको फैसलाको स्वागत र स्वीकार गर्ने लामिछानेले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
