सुर्खेत । समुन्द्री सतहदेखि १३ सय मिटरदेखि १८ सय मिटरसम्म पैयुँ, गुराँस लगायतका बिरुवाहरु पाउने गर्छ । हेमन्त ऋतुको शुरुवात भएसँगै पैँयु ढकमक्क फुल्न थाल्छ । भने गुराँस फुल बसन्त ऋतुको शुरुवातसँगै फुल्ने गर्छ । हिउँदको सुरुवातसँगै फु्लहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फुलको रानी समेत भनिन्छ । यो फुलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ । त्यती मात्रै होइन, पैँयु फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने सिजन शुरु भएको समेत विश्वास गरिन्छ । भने यो बिरुवालाई हिन्दु धर्मालम्बीहरुले शुद्ध विरुवाको रुपमा लिने गर्छन । विभिन्न धार्मीक क्रियाकलाप र पुजा गर्दा समेत यो बिरुवाका हाँगाहरु प्रयोग गर्ने गरिन्छ । तर यो बिरुवा पछिल्ला ८÷१० बर्षदेखि हराउँदै गएको छ भने गुराँस लगायतका फुलहरु फुल्ने महिनामा परिवर्तन आउन थालेको स्थानीय बताउछन् ।
दैलेख गुराँस गाउँपालिका वडा नम्बर ७ जिम्राका भिम बहादुर खड्का उमेरले ७३ बर्ष हुनुभयो । उहाले थाहा पाउने बेलादेखि नै घर वरपर पैँयुका बिरुवाहरु प्रसस्त थिए । जब पैँयु फुल्न थाल्थ्यो त्यतीबेला वनभर नै ढकमक्क देखिन्थ्यो । तर केही बर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भिम बहादुर चिन्ता व्यक्त गर्नुहुन्छ । पहिले त पैँयु वनैभरी थियो । भिम बहादुर भन्नुहुन्छ, “कात्तिक लाग्न शुरु भएपछि फुलेर ढक्कमक्क हुन्थ्यो, यो बिरुवालाई केही रोग लाग्यो की ? हराउँदै, हराउँदै अहिले यो बिरुवा त कत्ती पनि छैन् ।”
हिन्दु धर्मालम्बीहरुको विभिन्न धार्मीक कार्यमा समेत पैँयुको प्रयोग गर्ने गरिन्छ । शुद्ध बिरुवा मानिने यो धर्मअनुसार ब्रतबन्ध, पुजाआजा गर्दा मौलो पुज्ता प्रयोग गरिने भएपनि हिजोआज पैँयु नै हराउन थालेको छ ।
भिम बहादुर भन्नुहुन्छ, “बिबाह गर्दा पैँयु चाहिने, पुजा आजा गर्दा पैँयु चाहिने, कुल पुजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो बोट हराउन थालेपछि हाम्रो संस्कृतीमा समेत असर पर्न थालेको छ ।”
गुराँस गाउँपालिका ८ का जगत विसी पनि यसरी पैँयुको बिरुवाहरु सुकेको देख्नुभएको थिएन । तर पछिल्लो ५÷७ बर्षदेखि पैँयुको बिरुवा हराउँदै गएको देख्दा उहाँ आफै अच्चमित हुनुहुन्छ । “मेरो मनमा एउटा जिज्ञासा छ, यो बिरुवा एक ठाउँ मात्रै होइन एकैपटक सबै ठाउँ हराउँदै गयो ? यसको कारण के होला ?” उहाँ प्रश्न गर्दै भन्नुहुन्छ, “यो हराउनु सामान्य होइन, यसले हाम्रो धर्म संस्कृतीसँगै विभिन्न प्रयोजमा प्रयोग हुदै आएको छ, तर अहिले सबै ठाउँ हराउँदै गयो”
पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने बनस्पती हो । अरु फुलहरु नफुल्ने समयमा पैयुँको फुल फुल्नु यसको सबैभन्दा उत्तम गुण भएको बिरुवा मानिन्छ । गुराँस गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य महेश केसी पैँयुको बारेमा विगतदेखि नै आफु जानकार भएको बताउनुहुन्छ । “म पैँयुको बारेमा सानोदेखि नै जानकार छु । यो पहाडी क्षेत्रमा पाइन्छ । यसको फुल फुल्ने समयमा माहुरी झुल्ने गर्छ, माहुरीको प्रमुख आहारा रहेको यो बिरुवा हराउँदै गएको छ ।” यसले समग्र पर्यावरणमा समेत असर पार्न सक्ने केसी बताउनुहुन्छ । हाम्रो वरपर धेरै हुन्थ्यो यो बिरुवा, यो फुल फुल्न लागेपछि गहुँ लगाउने सिजन शुरु भयो भनेर समेत बुढापाकाहरुले भन्ने गर्थे । तर पछिल्लो समय कुन्नी के कारण हो, यो बिरुवा आफै हराउँदै गएको छ, यसले हाम्रो पर्यावरणमा समेत असर पार्न सक्ने म देख्छु । यसको अध्यन गरी संरक्षणमा अहिले देखि नै सरकारले कदम चाल्नुपर्छ ।”
पैँयु मात्र होइन, फुल फुल्ने अन्य बिरुवाहरुमा समेत परिवर्तन हुन थालेको छ । यही क्षेत्रमा लालि गुराँस फुल पनि प्रसस्त पाइन्छ । स्थानीयका अनुसार गुराँस फुल फागुनबाट फुल्न शुरु हुन्थ्यो, तर अहिले पुष महिनादेखि नै फुल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका मावीमा वातावरण विषय अध्यापन गराइरहनुभएका शिक्षक लोक बहादुर खड्का लालि गुराँस फुल प्रसस्त पाइने गरेको बताउनुहुन्छ । तर यो फुल फुल्ने समयमा परिवर्तन भएको उहाँको भनाई छ ।
“पहिले लालि गुराँस फुल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुन महिनादेखि नै फुल्न थाल्थ्यो तर अहिले पुष महिनादेखि फुल्न शुरु गर्छ । यसको फुल पनि सानो आकारमा रहेको देखिन्छ । जलवायु परिवर्तनले पारेको असर हुन सक्छ भन्ने मेरो अनुमान छ, किनकी अहिले तापक्रम वृद्धि भइरहेको छ ।”
शिक्षक खड्काका अनुसार पहाड्री क्षेत्रमा पाइने अन्य बिरुवा पनि फुल्ने समयमा परिवर्तन आएको भन्दै यसले भोली ठुलो समस्या पार्न सक्ने उहाको भनाई छ ।
नेपालको पैँयु भनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ । खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ । अमेरिका र जापानमा गरिएको ९० बर्षको समयअवधीमा चेरी अर्थात पैँयुको फुल फुल्ने समयको तथ्याङ्क हेर्दा अप्रिलमा फुल फुल्ने प्रवित्ति मार्च महिनामा भएको देखिएको छ ।
जल वायु परिवर्तनका कारणले देखिएको यो घटनालाई विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रशारण र प्रकाशन गरेका छन् ।
विश्वका विभिन्न देशमा भइरहेका यस्ता अध्ययन भने नेपालमा त्यती वास्था गरिएको पाईदैन । नेपालका पहाडी क्षेत्रमा पाइने पैँयु लगायत वनस्पतीहरु हराउँदै जानु र फुल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर हुन सक्ने मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान संकायमा अध्यापन गराइरहनुभएका प्रध्यापक डाक्टर पुष्पराज आचार्य बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “अहिले विश्व तापमान वृद्धी भइरहेको विभिन्न अध्ययनबाट नै पुष्टी भइसकेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । हामीले कर्णाली प्रदेशमा पनि जलवायु परिवर्तनको असरका विषयमा अध्ययन गरिरहदा बर्षाको स्थिति, तापक्रम अवस्था लगायतमा अध्ययन गर्दा परिवर्तन पाएका छौ” “तापमान वृद्धीको असर फुल फुल्ने बिरुवाहरुमा अवश्य पर्छ । जस्तोः पहडी क्षेत्रमा पाइने गुराँस फुल फुल्नको लागि केही बर्ष अगाडी फागुन चैतमा तापक्रम उपयुक्त हुन्थ्यो भने अहिले पुष माघमा नै उपयुक्त हुन थाल्यो, त्यही भएर नै गुराँस फुल फुल्ने समय परिवर्तन भयो, यसको अर्थ केहो भने अहिले बढ्दो तापमानका कारण जलवायु परिवर्तन भइरहदा त्यसको असर वनस्पतीमा पनि पर्न थाल्यो”
पैँयु हराउँदै जानुमा भने अध्ययन आवश्यक रहेको उहाको भनाई छ । यसको विषयमा भने अध्ययन गर्न आवश्यक छ । आचार्य भन्नुहुन्छ, “हामी पहिले त्यसको माटो चेक गर्नुपर्छ, केही रोग लागेर पनि त्यसो भएको होकी एकैपटक हजारौँ बिरुवा हराउनु भनेको जलवायु परिवर्तनको असर पनि हुन सक्छ । त्यस विषयमा भने अहिले नै भन्न सकिने अवस्था छैन ।”
नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा खास्सै चासो नदिएको भन्दै उहाले कर्णालीमा त झनै यसमा कुनै खोज अनुसन्धान नभएको डाक्टर आचार्य बताउनुहुन्छ । “नेपालमा जलवायु परिवर्तनले पुर्याएको असरका विषयमा त्यती अध्ययन अनुसन्धान भएको म देख्दिन । अझै कर्णालीमा त यसमा कुनै चासो छैन, यसमा तिनै तहका सरकारले चासो दिएर खोज अनुसन्धान र यसले पुर्याउने असर न्युनिकरणमा लाग्नुपर्छ ।”
पैँयौ संरक्षण, वृक्षारोपन तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरेपनि प्रयाप्त भने नभएको विज्ञहरु बताउछन् । तर व्यक्ती तवरबाट भने यसको संरक्षण र वृक्षारोपनमा प्रयास भने भएका छन् ।
राम प्रसाद गौतम ३० बर्षदेखि कृषि, वन क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाले काठमाडौंमा नेपाल कृषि विऊ विजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातीका विरुवाहरुको बिऊ तथा बेर्ना वितरण गर्दै आउनुभएको छ । पैँयु नेपालका पहाडी क्षेत्रका वनहरुमा आफै उम्रिने बिरुवा भएपनि उहाले आफ्नो संस्थाबाट यो बिरुवाका बिऊ र बेर्ना उत्पादन गरि वितरण गर्दै आउनुभएको छ । आफै उत्पादन हुने यो बिरुवाको किन बिऊ र बेर्ना उत्पादन गर्नुपरेको हो ? भन्ने प्रश्नमा राम प्रसादले यो बिरुवा लोप हुन थालेपछि संरक्षणको लागि बिऊ उत्पादन गर्न थालिएको प्रतिक्रिया दिनुहुन्छ ।
यता, कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असरको विषयमा खासै अनुसन्धान गरेको पाइदैन । यसरी बुट्यानहरुमा परेको प्रभावको विषयमा कुनै खोज अनुसन्धान गर्न खासै त्यस्तो योजना नबनेको मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने बताउनुहुन्छ । “प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट केही बिरुवाहरुको संरक्षणको लागि काम त भएका छन् तर पैँयु लगायतका अन्य बिरुवाहरुमा परेको असरका विषयमा त्यस्तो खोज अनुसन्धान भएको छैन ।”
आगामी बर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने उहाँको प्रतिवद्धता छ । विश्वका विभिन्न देशमा भइरहेका जलवायुको प्रभाव सम्बन्धीका अध्ययन नेपालमा त्यती गरिएको पाईदैन । आगामी दिनमा तिनै तहका सरकारहरुले यस विषयलाई प्रमुख प्रथामिकता दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
जलवायु परिवर्तनको असरः समय अगावै फुल्दै गुराँस, हराउँदै पैँयु
जलवायु परिवर्तनको असरः समय अगावै फुल्दै गुराँस, हराउँदै पैँयु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
