सुर्खेत । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ झ्याजे टोलका गोपीलाल खड्काले यो बर्ष तरकारी बेचेरै करिब पाँच लाख रुपैयाँ कमाउनुभयो । उहाले आफ्नो बारीमा आलु, काउली र टमाटर लगाउने गर्नुभएको छ । यही तरकारी बेचेरै उहाले आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल हुनुहुन्छ । तरकारी बेचेरै घर खर्च र केटाकेटीको पढाई खर्च कटाएर उहाले बचत गर्ने गर्नुभएको छ ।
“हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ । उहाले भन्नुभयो, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत बैशाखदेखि नै लगाउछौँ । अनि बर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ ।”
उहाले आफ्नो यो बर्ष करिब पाँच लाख रुपैयाँ कमई भएको सुनाउनुभयो । “मेरो भएको जग्गाको अधिकांमा तरकारी लगाउने गरेको छु । केही नभएपनि एक सिजनमा ३/४ लाख त प्रत्येक घरकाले कमाउछन् । तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या छ ।”
उहामात्रै होइन, झ्याजे टोलकै गगन बहादुर खत्रीले पनि आफ्नो अधिकांस जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । उहाले पनि सिजनमा ४ देखि पाँच लाख कमाई गर्ने गर्नुभएको छ । यो बर्ष पनि उहाको त्यही हाराहारीमा कमाई भयो । गगन भन्नुहुन्छ, “सबैभन्दा राम्रो कमाई आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर कहिलेकाँही भाउ पाउँदैन् ।”
यो टोलमा ९ घरपरिवार छन् । सबैको घरपरिवारको मुख्य आम्दानीको श्रोत नै तरकारी खेती हो । एक सिजनमा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तर पनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्नुहुन्छ, “बर्षायाममा मात्रै खेती गर्ने गर्छौ । हिउँद याममा तुसारो जम्छ हिउँदमा भने तरकारी उत्पादन गर्न सकिदैँन् । हिउँदमा पनि उत्पादन गर्न सक्ने भएको भए त बर्षमा १० लाखसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।”
यहाँ फागु चैतबाट तरकारी खेती शुरु हुन्छ भने कात्तिकसम्म विक्रि वितरण गर्ने गरिन्छ । अर्का किसान याम बहादुर ओली भन्नुहुन्छ, “फागुनमा आलु लगाउँछौँ, असार साउनमा निकालेर बेच्न शुरु गर्छौँ, काउलि बन्दा भने त्यसको बेर्ना तयार गरेर बैशाखबाट लगाउन शुरु गर्छौ, अनि असारमा बेच्ने गर्छौ । भाउ पायो भने त मनग्य आम्दानी हुन्छ ।”
किसानको गुनासो: राज्यको नजर पुग्न सकेन
मनग्य आम्दानीको लागि उपयुक्त ठाउँ रहेको यो टोलका किसानहरु राज्यको नजर पुग्न नसकेको गुनासो गर्छन । आफुहरुलाई मल, बिऊ र विभिन्न सरकारी कार्यक्रममा जोड्नुपर्ने माग गर्छन । हिरादेवी केसीले आफुहरुले राज्यले किसानका लागि दिने कुनैपनि कार्यक्रममा समावेश हुन नसकेको गुनासो गर्नुहुन्छ ।
“यहाँ यती धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथीसम्म कच्ची सडक त आएको छ, तर सधै चल्दैन् । हामीले आलुको बिऊ मंहगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ ।”
यो टोलमा एकजना किसानले ५० क्वीन्टल सम्म आलु फलाउने गरेका छन् । अर्का किसान कृष्ण बहादुर खत्रीले एउटा घरपरिवारले आलु मात्रै ५० क्वीन्टल फलाउने गरेको भन्दै यती धेरै उत्पादन बोकेर लिन समस्या रहेको भन्दै बस्तीसम्म नै बाटो निर्माण गरिदिन माग गर्नुहुन्छ ।
दैलेख गुराँस गाउँपालिकाभर नै आलु र तरकारीको लागि उपयुक्त छ । तर उत्पादनमुखी कार्यक्रममा जोड दिन नसकेको किसानहरु बताउछन् ।
यो टोलसहित अन्य बाटो नपुगेका वस्तीहरुमा बाटो मर्मत र विस्तारका लागि पहल गर्ने गुराँस गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले बताउनुभयो ।
यता, प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतकोभन्दा फरक तरिकाले कार्यक्रम संचालन गरिरहेको बताएको छ ।
प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्नेगरी योजना निर्माण गरिएको बताउनुभयो । “कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई टाग्रेट गरेर कार्यक्रम बनाइरहेका छौँ,” उहाले भन्नुभयो, “जस्तै त्यो झ्याजे टोल आलुको लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ । आगामी बर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकताअनुसार कार्यक्रम बनाउँछौँ ।”