सुर्खेत । भनिन्छ, सघर्षले नै सफलताको बाटो डो¥याउछ, केही गर्न सक्छु भन्ने सोच र आत्मबल जसले राखेर संघर्ष गर्छ, त्यही व्यक्तीले सफलता प्राप्त गर्न सक्छ । यसको गतिलो उदाहरण बन्नुभएको छ, मुगु खत्याड गाउँपालिका वडा नम्बर ४ जिउँकाका धनसिङ रावल । उहाले संघर्ष मात्रै होइन, समाजको विभेद र आर्थिक अभावको सामाना गर्नुपर्यो । सानैदेखि धेरै चुनौतीको सामाना गर्नुभएका रावल संघर्षशिल हुनुहुन्थ्यो ।
कष्टकर रुपमा गाउँमै वित्यो बाल्यकाल
मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ४ को जिउँकामा बुवा सत बहादुर रावल र आमा भदुरी रावलको कोखबाट २०४३ सालमा जन्मिएका धनसिङले २ बर्ष हुँदा नै आमा बुवा गुमाउनुपर्यो । सानै उमेरमा आमा बुवा गुमाउँदाको पिडा त छदै थियो, भने अर्कोतर्फ शाररिक रुपमा अपाङ्गता भएकै कारण अझै अर्को चुनौती उहाले सामाना गर्नुपर्यो । अपाङ्गता भएकै कारण गाउँमा विभेद गरिन्थ्यो । रावल भन्नुहुन्छ, “सानोमा साथीहरुले समेत सँगै खेल्न समेत लिन्थेनन् । म हजुरबुवासँग हुर्किए, यसले पढ्न सक्दैन स्कुल पनि किन पठाउनुपर्यो गाउँका मान्छे भन्ने गर्थे । तर हजुरबुवाले मलाई पढाएर असल मान्छे बनाउछु भनेर हौसला दिनुहुन्थ्यो ।”
हजुरबुवासँगै हुर्कीएका धनसिङलाई विद्यालय भर्ना गरियो । कक्षा ८ सम्म गाउँकै श्री नेरा मावीमा पढ्नुभएका रावल कक्षामा सधै प्रथम हुनुभयो । उहाको पढाई प्रतिको मेहेनत देखेर गुरुहरुले सहानुभुती दिने गर्नुहुन्थ्यो । तर साथीहरुले भने उहालाई अपाङ्गता भएकै कारण विभिन्न उपमा दिँदै विभेद गर्थे । गाउँमा पनि त्यस्तै व्यवहार थियो । तर आफ्नो पढाईप्रतिको मेहेनत भने उहाले जारी नै राख्नुभयो । सथै प्रथम हुने रावल ९ कक्षादेखि भने कैलालीको टिकारपुरमा रहेको जनजार्गिती मावीमा पढ्नुभयो । २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी पास गनुभएका रावलले आर्थिक अभाव भने निकै झेल्नुपर्यो ।
अपाङ्गता भएकै कारण विभेद, तर संघर्ष धेरै
रावलले अपाङ्गता भएकै कारण विभेदको सामना सानैबाट गर्दै आउनुभएको थियो । विभेद साथीभाईबाट, गाउँसमाजबाट उहाले भोग्नुपर्यो । “कसैको शरिरलाई लिएर खिसिट्युरी गर्दा पिडा कस्तो हुन्छ ? मलाई मात्र थाहा छ, रावल भन्नुहुन्छ । त्यतीबेला मलाई खेल्न पनि दिइन्थेन, साथीभाईहरुले मात्रै होइन, समाजका अग्रज मानिसहरुले पनि पढेर के गर्न सक्छस् र ? भन्ने प्रश्नहरु गर्थे त्यतीबेला साह्रै दुख लाग्थ्यो ।”
त्यती मात्रै होइन, घरको आर्थिक अवस्था समेत कमजोर हुँदा रावललाई पढाईलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता बढ्यो । “एकातिर आफुमाथी विभेद थियो, अर्कोतर्फ घरको आर्थिक अवस्था कमजोर थियो, मैले हजुरबुवालाई पढ्न पाउदिन भनेर रुन्थे । तर हजुरबुवाले हौसला दिनुहुन्थ्यो । हजुरबुवा र हजुर आमाले भेडाबाख्रा पाल्नुभएको थियो, त्यही बेचेर मलाई पढ्न पठाउनुभयो,”
अनि रावल आफ्नो उच्च शिक्षाको लागि बाँकेको नेपालगञ्ज जानुभयो । नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसमा एडमिसन हुनुभउका उहाले पढाई त शुरु गरेपनि फेरी उहि चिन्ता थपिन थाल्यो कसरी कोठाभाडा तिर्ने, आफ्नो खर्च कसरी चलाउने ? उहाले ति सबै कुराहरुलाई व्यवस्थापन गर्दै आफ्नो पढाईप्रतिको मेहेनत बढाउनुभयो । “उच्च शिक्षा पुरा गर्नको लागि बाँकेको नेपालगञ्जमा त पुगियो, तर त्यहाँ गएर पनि उहि पिडा थियो, घरबाट हजुरबुवाले कहिलेकाँही भेडा बेचेर पैसा पठाउनुहुन्थ्यो । तथापी भाडामा बसेर सबै किनेर खानुपर्ने मलाई धेरै समस्या थियो, एकातिर क्याम्पसमा फि कसरी तिर्ने, कोठाभाडा कसरी तिर्ने ? कापीकिताब र शैक्षिक सामग्री कसरी ल्याउने धेरै चिन्ता थियो, तर यी सबै चिन्तासँगै भविश्यमा के गर्ने भनेर चिन्तन पनि गर्थे, अनि पढाईमा मेहेनत गर्थे उहाले भन्नुभयो,”
यस्तै चिन्ता र चिन्तनमै रहनुभएका धनसिङको जीवनमा पछि भने केही सहजता हुन थाल्यो । जब उहाले अपाङ्गता भएका व्यक्तीहरुको शिक्षाका लागि परिलक्षित संस्थाले छात्रावृत्ती खोलेको थाहा पाउनुभयो । अनि उहाले त्यसमा निवेदन पेश गर्नुभयो । परिलक्षित संस्थाले उहाको शिक्षाको लागि आर्थिक सहयोग गरेपछि उहाको जीवनमा केही सहजता आयो । त्यती मात्रै होइन, क्याम्पसमा पनि उहाले छात्रवृत्तीको अवसर पाउनुभयो । अब भने आफ्नो पढाई पुरा गर्छु भन्ने आत्मबल उहाँमा आयो ।
“सबैतिर दुख र आर्थिक अभावले आफ्नो पढाई पुरा गर्न सक्दिन की भन्ने चिन्तामा थिएँ । पछि भने एकैपटक परिलक्षित संस्थाको पनि सहयोग पाएँ भने क्याम्पसमा समेत छात्रवृत्ती पाएपछि यती खुशी छायो की भन्न पनि सक्दिन ।” उहाले थप्नुभयो, “पढाई कुनैपनि हालतमा नरोकियोस् भन्ने मेरो मनोकांक्षा परिलक्षित संस्थाले गरिदियो । त्यसपछि भने मलाई पढाई पुरा गर्न आर्थिक अभाव भएन् । अनि मैले पढाईमा यती मेहेनत गरेकी मलाई यो अपाङ्गता भएको व्यक्ती हो केही गर्न सक्दैन भन्नेहरुलाई केही गरेर देखाउनुपर्छ भन्ने हुटहुटी झनै बढ्यो ।”
अस्थायी शिक्षक हुँदै स्थायी शिक्षकमा नियुक्त
धनसिङले आफ्नो उच्च शिक्षा पुरा गर्नुभयो । स्नातक तह पुरा गरेर उहाँ गाउँ फर्किनुभयो । उत्कृष्ट भएर उच्च शिक्षा हासिल गनुृभएका उहालाई गाउँमा आफैले पढेको विद्यालयमा अस्थायी दरबन्दीको रुपमा शिक्षकमा नियुक्त गरियो । उहालाई आफ्नो लक्ष्य भेट्टाउन लागेको अनुभुती हुन थाल्यो । विगतमा गाउँमा अपाङ्गता भएकै कारण केही गर्न सक्दैन भनेर विभेद गर्नेहरु पनि उहाप्रति सकरात्मक हुन थाले ।
“म जुनदिन अस्थायी शिक्षकको रुपमा गाउँको विद्यालयमा नियुक्त भएँ, त्यो दिन मलाई हुर्काउने हजुरबुवा हजुरआमालाई सम्झिएँ । त्यती दुख गरेर मलाई हुर्काउनुभयो, पढाउनुभयो, तर म शिक्षक भएर खुशी बाड्न पाइन एकातिर मन दुखी थियो भने अर्कोतर्फ मलाई अपाङ्गता भनेर विभेद गनेृ गाउँका मानिसहरु मप्रति सकरात्मक भएको देख्दा खुशी पनि लाग्यो । मेहेनत र सघर्ष गरेर सबैले सम्मान गर्दा रहेछन् ।”
केही बर्षसम्म पढाउँदै शिक्षक सेवा आयोगको तयारी गरेका रावलले २०७९ सालमा शिक्षक सेवा आयोगले लिएको परिक्षामा सफलता प्राप्त गर्दै स्थायी शिक्षक हुनुभयो । उहालाई विगतमा अपाङ्गता भएका व्यक्तीहरुले केही गर्न सक्दैनन् भन्नेहरु अहिले भने गाउँमा सम्मान गर्ने गर्छन् । उहाले अहिले मुगुको श्री कालिका माध्यमिक विद्यालय खत्याड गाउँपालिका वडा नम्बर ३ को बुगामा पढाइरहनुभएको छ ।
अपाङ्गता भएर केही गर्न सकिन्न भन्ने सोचलाई बदलेर संघर्ष गर्न सके सफलता प्राप्त हुने उहाको अनुभव रहेको छ ।–––
धनसिङको अनुभवः ‘जुन समाजले अपाङ्गताका कारण विभेद गर्यो, त्यही समाजले आज सम्मान दियो’
धनसिङको अनुभवः ‘जुन समाजले अपाङ्गताका कारण विभेद गर्यो, त्यही समाजले आज सम्मान दियो’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
