सुर्खेत । २०५२ साल साउन ५ गतेको दिन थियो । अछामका दल बहादुर रावल र सर्जादेवी रावलको घरमा खुशीयाली छायो । जब रावल दम्पतीबाट अर्जुन रावलको जन्म भयो, घर परिवारमा खुशी छायो । सन्तान प्राप्ती हुँदा कसको पो मन परफुल्ल हुन्न र ? अर्जुन रावलमा भने दृष्ट्रि सम्बन्धि अपाङ्गता थियो । त्यतीबेलाको समाजको कारणले छोराको भविश्य के हुने होला ? भन्ने चिन्ता भने रावल दम्पतीमा थियो । अर्जुनसँगै अर्जुको दिदी पनि दृष्ट्रि सम्बन्धि अपाङ्गता हुनुहुन्थ्यो । गाउँसमाजका व्यक्तीहरुको कुराले त्यो परिवारमा झनै चिन्ता थपिन्थ्यो । हुनपनि त्यतीबेलाको समाजको सोच र शिक्षाको स्तर त्यही अनुसारको थियो । तथापी अर्जुनका बुवा राजनिति क्षेत्रमा पनि सक्रिय भएकाले परिवर्तनकारी हुनुहुन्थ्यो ।
अनि अर्जुन विद्यालय भर्ना भएपछि…
अर्जुन विद्यालय जाने उमेरको पुग्नुभयो । अनि उहालाई विद्यालय भर्ना गरियो । कैलाली धनगढीमा रहेको पञ्चोदया विद्यालयमा भर्ना भएपछि अर्जुनको परिवार नै बसाई सराई गरेर कैलाली आयो । अर्जुनको पढाई धेरै राम्रो थियो । पढ्ने मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत उहाको राम्रो दख्खलता थियो । पूर्ण दृष्ट्रिबिहिन रहेका अर्जुनले सानैदेखि कक्षामा राम्रो अंक ल्याएर पास हुन थालेपछि परिवार नै गौरवाम्वित हुन्थ्यो । अर्जुन भन्नुहुन्छ, “म लगायत मेरो दाजुभाई दिदीबहिनीको शिक्षादिक्षाको लागि बुवा आमाले धेरै मेहेनत गर्नुभयो, हाम्रै पढाईको लागि अछामबाट धनगढी बसाई सराई गरि आयौँ, मैले सानैदेखि पढाईमा ध्यान दिन्थे ।”
ब्रेललिपीमा पढ्नुभएका अर्जुनको पढाई राम्रो थियो । तर उतिबेलाको समाजको सोच फरक थियो । दृष्ट्रिबिहीनले कसरी पढ्न सक्छ ? पढेर के हुन्छ ? लगायतका प्रश्न उठाइन्थ्यो । तर ति प्रश्नको कुनै प्रवाह नगरी अर्जुनको बुवाले पढ्न हौसला दिइरहनुहुन्थ्यो । सधै कक्षामा राम्रो अंक ल्याउने अर्जुनलाई विद्यालयमा गुरुहरुले समेत भरोसा गर्नुहुन्थ्यो । क धनगढीमा एसएलसीसम्म पढ्नुभयो । कुनै कक्षामा पनि फेल नभएका उहाले २०६९ सालमा पहिलो श्रेणीमा एसएलसी पास गर्नुभयो । उत्कृष्ट अंक ल्याएर पास भएपछि घरमा मात्रै होइन्, मिडियाहरुमा पनि चर्चा पाएको थियो । त्यसपछि समाजले हेर्ने दृष्ट्रिकोणमा परिवर्तन आयो ।
“गाउँमा मानिसहरुले मलाई त सिधै केही भनेनन् । तर पढेर के हुन्छ र ? दृष्ट्रिबिहीन व्यक्तीले पढ्न सक्छन र ? भन्ने लगायतका प्रश्न मेरो बुवा आमासँग राख्नुहुन्थ्यो रे, अर्जुन भन्नुहुन्छ, मैले एसएलसीमा ६५ प्रतिशत अंक ल्याएर पास गरेपछि सबै चकित पर्नुभयो ।”
उहाले माथिल्लो कक्षा पढ्ने सोच बनाउनुभयो । पढेर समाज सेवामा लाग्ने सोच राखेका उहाले आफ्नो पढाईसँगै सामाजिक कार्य पनि गर्नुहुन्थ्यो । अर्जुन प्लस टु पढ्नको लागि धनगढी ऐश्वर्य विद्या निकेतनमा भर्ना हुनुभयो । उहालाई धेरै हौसला पनि थियो भने केही गर्न सक्छु भन्ने आँट पनि । त्यही अनुसार उहाले मेहेनत गर्नुभयो । अर्जुनको पढाईमा मेहेनत व्यापक थियो, सँगै कलेजमा पढीरहेका गरिब तथा जेहेन्दार विद्यार्थीरुको लागि छात्रावृत्ती पाउनुपर्छ भनेर नेतृत्वदायी भुमीका गरेर आवाज उठाउनुहुन्थ्यो । विद्यार्थीहरुको हकहितको लागि क्याम्पस प्रशासनमा धर्ना समेत बसेको याद अहिले पनि ताजै छ ।
“म आफ्नो पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागि हुन्थे, विद्याथीहरुको हकहितको लागि अगुवाई गरेर क्याम्पस प्रशासनलाई दबाब दिने काम गरिरहेको हुन्थे । मलाई हेर्ने समाजको दृष्ट्रिकोणमा धेरै परिवर्तन आइसकेको थियो । विद्यालयमा मात्रै होइन सडक निर्माण, र अन्य समाजिक कार्य गतिलो बनाउनको लागि दबाबमुलक कार्य समेत मेरै अगुवाईमा हुन्थ्यो ।”
पढाईमा राम्रो दख्खलता भएका अर्जुनले प्लस २ मा पनि राम्रो अंक ल्याएर पास हुनुभयो । उहाले उच्च शिक्षा पढ्ने निधो गर्नुभयो ।
घरपरिवारको मध्यम खालको आर्थिक अवस्था थियो । अर्जुन भन्नुहुन्छ, “छ जना भाइबहिनी पढाउँनुपर्ने बुवा आमालाई पनि धेरै भार बनानउनुहुन्न भन्ने मलाई लाग्थ्यो । अनि परिलक्षित संस्थाले छात्रावृत्ति खोलेको थाहा पाएपछि मैले आवेदन दिएँ । म परिलक्षित संस्थाको छात्रवृत्तीमा छनौट भए ।”
परिलक्षित संस्थाले अपाङ्गता भएका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने गर्दछ । त्यही सहयोग पाएपछि उहाले स्नातक तह पढ्न शुरु गर्नुभयो । स्नातक तहमा पनि उहाको पढाई उत्कृष्ट थियो । कुनै कक्षा पनि नदोहोरिएका अर्जुनको मेहेनत र संघर्ष प्रेरेणादायिक थियो ।
अनि स्थायी शिक्षक बन्न सफल
व्याचलर पढ्दादेखि नै उहाले शिक्षक सेवा आयोगको तयारी गर्नुभयो । उहालाई उच्च शिक्षा हासिलसहित शिक्षक सेवा आयोग पढ्नको लागि समेत परिलक्षित संस्थाले सहयोग गरेको थियो । उहाले शिक्षक सेवा आयोगको परिक्षा दिनुभयो । पहिलो पटक बैकल्पिकमा परेका उहाले दोश्रो पटक प्रावि र निवावीमा दुवैमा नाम निकाल्न सफल हुनुभयो । उहाले २०७६ सालमा नाम स्थायी शिक्षक बन्नुभयो । त्यो दिन घरपरिवार मात्रै होइन समाजका अरु मानिसहरु पनि खुशी थिए । कुनैबेला केही गर्न सक्दैन भन्नेहरुको सोच नै बदलिएको छ । अहिले हिमालय माध्यमिक विद्यालय टिकापुर ३ झियापुर्थीमा निमावी तहमा अग्रेजी पढाइरहनुभएको छ ।
अपाङ्गता भएका युवाहरुलाई जागरुप बनाउनेदेखि पछाडी पारिएका वर्ग र समुदायलाई अधिकार सम्पन्न गराउनको लागि काम गर्ने उहाको आगामी योजना छ । २०७३ सालमा नेत्रहिन युवासंघको अध्यक्ष समेत भएका उहाले नेत्रहिन संघ सुदुरपश्चिमको अध्यक्ष समेत हुनुहुन्छ, भने नेत्रहिन युवा संघको केन्द्रीय महासचिव हुनुहुन्छ ।