सुर्खेत । वीरेन्द्रनगर–९ लाटिकोइलीमा वि.सं. २०४१ साल फागुन १९ गते जन्मिएकी म प्रदिप्ता श्रेष्ठ अहिले स्वास्थ्य क्षेत्रमा रमाएकी छु । यसरी जीवनमा सफल हुन्छु भन्ने नसोचेकी मेरो खुशीको सिमा नै छैन् । तेह्र बर्षको उमेरमा बालविवाह गरेर घर धन्दा चुलोचौकोमै सिमित भएकी मैले यो दिन आउला कहिल्यै सोचेको थिइन् । कक्षा १० मा पढ्दै गर्दा पहिलो सन्तान पेटमा भएको आठ महिना सम्म पनि विद्यालय गए । सानै उमेर भएर पनि होला ठुलो पेट लिएर विद्यालय जान कहिल्यै लाज लागेन । त्यसपछि मैले शारिरिक समस्याका कारण पढाई तिर खासै ध्यान दिन सकिन् र एस.एल.सीमा फेल भए । पहिलो सन्तान छोरीको जन्म भयो । आफ्नो सानो उमेर, श्रीमानको सामान्य पन्ध्र सय तलबको जागीरले मैले आफ्ना इच्छा, छोरीका लागी आवश्यक बस्तु र घर व्यवहार चलाउन निकै सकस भएको महशुस गरे । छोरी एक वर्ष पुगेपछि अब आफुले पनि केहि गर्नुपर्छ भन्ने सोचेर मैले सिलाई कटाई सिक्ने सोच बनाए । विहान बेलुका घर धन्दा बालबच्चालाई ख्याल गरेर दिउसोको समयमा भएको खाली समय सदुपयोग र आफु आत्मनिर्भर हुने सोचले मैले नवज्योती संस्थामा सिलाई कटाई सिक्नका लागी गए तर त्यहा सिके वापत मासीक रुपमा तिर्नुपर्ने एक सय रुपैया जुटाउन पनि मलाई सकस हुन्थ्यो । जसो तसो मिलाएर सिक्न गए । एक महिना सम्म त पत्रिका, कागज काटेर सिके तर दोस्रो महिनाबाट कपडा काट्नुपर्ने अवस्था आयो तर सिक्नेबेला काट्ने कपडा किन्नका लागी म संग पैसा भएन र मैले सिलाई कटाई सिक्न छोडे । त्यसपछि घरमै दिन विताउन थाले जुन मेरा लागी सकसपुर्ण थिए । त्यसपछि दोस्रो सन्तान छोरा जन्मियो । छोरा जन्मिएपछि झन दुई वटा बच्चा र आफुलाई आवश्यक बस्तुका लागी मलाई समस्या भएपछि वीरेन्द्रनगरमा रहेको पाइनियर वहुउद्धेशीय सहकारी संस्थामा बजार व्यवस्थापकका रुपमा काम गर्ने अवसर पाए । दिनभरी पसल पसलमा गएर पैसा उठाउने अनि बेलुका अफिसमा जम्मा गर्ने काम गरे । दिनभरी पैदल हिडेर बजार भरी परिकर्मा गर्दा राती यति मिठो निन्द्रा लाग्थ्यो की म त्यो शब्दमा व्यक्त गर्न सक्दिन् । ग्राहक बनाएर प्रतिशतका आधारमा तलब दिने कुरा भएको थियो, मैले पहिलो तलब ३ सय पचाँस बुझेको थिए । त्यो समय मेरो खुशीको सिमा थिएन् । पहिलो तलबले मैले आफुले लगाउनका लागी दुई दर्जन चुरा, मेरी हजुराआमाको लागी प्रेशरको औषधी र दश रुपैयाको जेरी किनेर खाएको थिए । पाँच वर्ष मैले यसरीनै काम गरे । त्यसपछि मेरो काम प्रतिको लगनशिलता देखेर ऋणको पाटो हेर्ने गरी अफिसमै बसेर काम गर्ने कुरा आएपछि मैले पास गर्न नसकेको एस.एल.सीको सर्टिफिकेटका कारण त्यो अवसर गुमाए । मलाई त्यतिबेला महशुस भयो कि पढाईको महत्व कति रहेछ भन्ने । अनि मैले पुन पढ्ने योजना बनाए । करिब दश वर्ष पछि २०५८ सालमा फेल भएको एस.एल.सी मैले २०६८ सालमा दास्रो श्रेणीमा पास गरे । एस.एल.सी पास गरेर के गर्ने त भन्ने योजना बनाउदै जाँदा मेरो घर नजिकै रहेको राष्ट्रिय प्राविधिकमा पढाई हुने विषय मध्य ल्याबको लागी एक जनाको कोटा खाली छ भन्ने सुनेपछि मैले ल्याब पढ्ने तयारी गरे । मैले पढाई शुरु गर्दा दुई महिना कक्षा अगाडी गइसकेको थियो । कक्षा कोठामा जादा सबै जना रेगुलर पढेर आएका विद्यार्थी भाई बहिनीको उमेरका थिए अनि म एक्लै थिए परिपक्क अनि छोराछोरीकी आमा । तर पनि मैले कहिल्यै मतबल नगरी मेहेनतका साथ पढाईमा ध्यान दिए । मलाई मेरो पढाई अनि हिजोका दिनको दुःखले पाठ सिकाईसकेको थियो कि मेहेनत विना केहि पनि सफल छैन् । १८ महिने ल्याबको पढाई सकियो अनि
जब परिक्षा आयो मैले यति मेहेनतले रात दिन पढे नी जसको नतिजा त रिजल्टले बतायो । मैले कक्षामा भएका ३९ जना मध्य पास भएका १८ जनालाई पनि जितेर ८३ प्रतिशत पुर्णाङ्क ल्याएर डिष्टिङ्गसन ल्याएको थिए । यो मेरो अनि परिवारको कल्पना भन्दा बाहिरको कुरा थियो । त्यसपछि मैले ओजेटीका लागी वीरेन्द्रनगरको देउती नर्सिङ्ग होममा काम गरे । ओजेटी सकेर मैले भोलेन्टियरका रुपमा देउती नर्सिङ्ग होममै ६ महिना काम गरेर त्यहि जागीर गर्ने अवसर प्राप्त गरे । काम गर्दै जादा केहि वर्ष वित्यो अनि यस संगै मैले आफ्नै घर नजिकको लाटिकोइली स्वास्थ्य चौकीको ल्याबमा पनि काम गर्ने अवसर पाए । १० देखी ४ सम्म स्वास्थ्य चौकी र विहान बेलुका देउती नर्सिङ्ग होममा काम गर्न थाले । यसैविचमा कोरोना महामारी आयो, जुन समय मेरा परिवारले मलाई जागीर छोड्न धेरै दवाव दिए । किनकी यो उहाँहरुले मप्रति दर्शाएको माया थियो र मेरो परिवारलाई म भन्दा ठुलो जागीर थिएन । तर पनि मैले ज्यानको माया मारेर वीरेन्द्रनगर नगरपालिकाले दिएको निर्देशन अनुसार काम गरे । सुब्वाकुना चेक पोइन्टमा बसेर बाहिरी जिल्लाबाट आएका नागरिकको स्याम्पल कलेक्शनको काम गरे । दिनमा तिन चार सय जनाको स्याम्पल कलेक्शन गरेर पहिलो पटक आएको कोरोना महामारीमा घरनै नगएर आइसोलेशनमा बसेर काम गरिम् । हामीले गरेको कामको मुल्याकंन गर्दै नगरपालिकाले सम्मान पनि ग¥यो । अहिले पनि म देउती नर्सिङ्ग होममै ल्याबमा काम गरिरहेकी छु । अहिले लाग्छ म जुन अवस्थामा पनि अब बाच्न सक्छु किनकी म आत्मनिर्भर छ्ु । मलाई लाग्छ जुन समय म खाली थिए मेरो काम केहि थिएन त्यो समयमा खाली भएको दिमागमा कति नराम्रा कुरा खेल्ने, समय विताउन गाह्रो हुने हुन्थ्यो तर अहिले मलाई राम्रो संग खाने पनि फुर्सद छैन् योे मैले नै आफुलाई बनाएको व्यस्त हो । म यसमा निकै खुशी छु । थोरै भएपनि आफुले कमाएको भनेको फरक हुदोरहेछ । हामीले लागेको बाटोले सन्तानको भविष्य कोर्दो रहेछ । हाम्रो व्यस्तताले छोराछोरीलाई पनि सहिबाटोमा हिड्ने मार्ग देखाउदो रहेछ । मानिसको एकअर्का संग चिनजान बढ्दो रैछ अनि ज्ञान पनि बढ्दै जादो रहेछ । अहिले छोराछोरी पनि ठुला भैसके, श्रीमान बैदेशिक रोजगारीका लागी यूरोप जानु भएको छ तर म यहि काम गरिरहेकी छु अनि घरपरिवार सम्हाली रहेकी छु । मेरो दृढ इच्छा र लगनशिलताले मलाई सफल बनाएको छ । जहाँ इच्छा त्यहाँ उपाए भन्ने भनाई मेरो जीवनमा सही सावित भएको छ । युग आव्हान दैनिकबाट…..
पढाई छोडेको दश वर्ष पछि ल्याब पढ्दा डिष्टिङ्गसन
पढाई छोडेको दश वर्ष पछि ल्याब पढ्दा डिष्टिङ्गसन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
